गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत भएको बताउनुभएको छ । नेता नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले आज शोक वक्तव्य जारी गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
संविधानसभाका अध्यक्षसमेत रहनुभएका नेता नेम्वाङको आज बिहान १ः३० बजे शिक्षण अस्पताल काठमाडौँमा निधन भएको थियो । "संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधि सदस्य नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ : ३० बजे भएको अप्रत्याशित निधनले मर्माहत भएको छु" उहाँले शोक वक्तव्यमा भन्नुभएको छ ।
"२०६२ ६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदमा सभामुख र पहिलो तथा दोस्रो संविधान सभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी अनुकरणीय भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ" अध्यक्ष तिमिल्सिनाले चर्चा गर्नुभएको छ । नेपालको शान्ति प्रक्रिया र संविधान सभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका रहेको उहाँले स्मरण गर्नुभएको छ ।
"उहाँको सुझ बुझपूर्ण ढङ्गले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरूपण गर्ने शैली सबैका लागि अनुसरणयोग्य छ अध्यक्ष तिमिल्सिनाले भन्नुभएको छ, उहाँको निधनले नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद् एवं संसद्को पूर्व नेता गुमाएको छ।
राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमान्दार नेता गुमाएको छ। दुःखको यस घडीमा नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु" उहाँले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ ।