• १४ मंसिर २०८१, शुक्रबार

गोरखाका यातायात व्यवसायी विरोधमा

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ २५ गते । गोरखाका सबै सडकमा खुलेआम रातो प्लेटको गाडीले यात्रु बोक्न थालेपछि यातायात ब्यवसायीहरु बिरोधमा उत्रिएका छन् । आफनो ब्यक्तिगत प्रायोजनमा लिएका गाडीले धमाधम यात्रु बोक्न थालेपछि जिल्लामा रहेका यातायात व्यवसायीहरु विरोधमा उत्रेका हुन् ।  

यातायात ब्यबसायीहरुले अभियान नै सञ्चालन गरेर यात्रु बोक्ने रातो प्लेटका सवारीलाई नियन्त्रणमा लिएर ट्राफिकलाई बुझाउनेगरेका छन् । ‘दुई तीन दिनदेखि अभियान सुरु गरेका हौं’ गोरखा मनकामना यातायात प्रालिका अध्यक्ष अमृत लामिछानेले बताउनुभयो । 

सवारी नियम उल्लङ्घन गर्दै रातो प्लेटका सवारीले यात्रु बोक्दा पनि ट्राफिक प्रहरीले कारबाही गर्न चासो नदिएको उहाँको  भनाइ छ । यातायात नियमवाली अनुसार रातो प्लेटका निजी सवारी गाडीले भाडाका यात्रु बोक्न नपाउने प्राबधान छ । सबैभन्दा बढी बारपाक सुलीकोट गाउँपालिकाको सौरपानीबाट गोरखा आउने बोलेरोले यात्रु बोक्नेगरेको व्यवसायीको आरोप छ ।  

अभियान सञ्चालनका लागि नबराज थापाको संयोजकत्वमा १९ सदस्यीय समिति बनेको व्यवसायीको भनाइ छ । अभियानमा गोरखा दरौदी यातायात सेवा प्रालि र पृथ्वी यातायात प्रालिले पनि साथ दिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले नियमबिपरित यात्रु बोक्ने रातो प्लेटका सवारी साधनलाई कारबाही भइरहेको बताउनुभयो । ‘हामीले चेकजाँच पनि कडाइ गरेका छौं, देखेसम्म कारवाही गरेका छौं’ जिल्ला ट्राफिक इन्चार्ज बेदनाथ भण्डारीले भन्नुभयो । 

साउन महिना यता मात्र ३२ वटा निजी सवारी साधनलाई कारबाही गरी जरिवाना बापत ४२ हजार राजश्व संकलन गरिएको उहाँले बताउनुभयो ।