• १ जेठ २०८२, बुधबार

झेर्दिमा दूध संकलन केन्द्र स्थापना

blog

झेर्दिमा संकलन गरिएको दुध । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, भदौ २५ गते । गुल्मीको छ्त्रकोट गाउँपालिका –१, हुँगा झेर्दिमा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गत वर्ष स्थापना गरिएको सो संकलन केन्द्रको एक औपचारिक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो ।

दूध संकलन केन्द्रको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष पाण्डेले देश आर्थिक संकटउन्मुख रहेको उल्लेख गर्दै त्यो संकट टार्न उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । एकै गाउँका ४९ जना किसानले व्यावसायिक पशुपालन गर्ने कुराले आफू उत्साहित भएको भन्दै यसलाई अझै फराकिलो बनाउनुपर्ने बताउनुभयो । 

यस संकलन केन्द्रमा अहिले दैनिक २०० लिटर दूध संकलन भइरहेको छ । किसानको मेहनत र पालिकाको साथले निकट भविष्यमै ५०० लिटरभन्दा धेरै दूध दैनिक उत्पादन हुनेगरी काम गर्ने उहाँको भनाइ छ । त्यसअवसरमा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले संकलन केन्द्रको स्थापना भएसँगै किसानले दुधको बजारीकरण र उचित मूल्य पाउने कुरामा विश्वास व्यक्त गर्नुभयो । 

वडाका अध्यक्ष घनश्याम न्यौपानेले गाउँमा अवसर छ, सहयोगको लागि स्थानीय सरकार तयार छ भन्ने सन्देश दिनेगरी काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

पूर्व वडा अध्यक्ष धातानन्द भण्डारीले किसानले पनि अनुदानका निम्ति नभई आम्दानीका निम्ति कृषि र पशुपालन गर्नुपर्ने भन्दै पालिकाले वास्तविक किसानलाई अनुदान प्रदान गर्न जरुरी रहेको व्यक्त गर्नुभयो । किसान उद्वव न्यौपानेले किसानले दूध उत्पादन गरे पनि बजारको समस्या रहेको, उचित मुल्यको लागि पालिकाले पहल गर्नुपर्ने भन्दै उन्नत गाईभैसीको व्यवस्था गरिदिन समेत आग्रह गर्नुभयो ।

गाउँपालिकाका पशु शाखा प्रमुख टेकबहादुर खनालले कृषि र पशुपालनका लागि सरकारले लगानी गर्ने तर किसानले नियमित नगर्दा समस्या हुनेगरेको भन्दै किसान पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । कुल १६ लाख ७० हजार ८७ रुपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा छत्रकोट गाउँपालिकाले १५ लाख लगानी गरेको हो । संकलन केन्द्र स्थापना गरिएसँगै हाल ४९ जना किसान लाभान्वित हुने उहाँले बताउनुभयो ।