• २१ जेठ २०८१, सोमबार

डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे

blog

उपचार गराउन अस्पताल आएका विरामी । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ २५ गते । पाल्पामा डेङ्गु सङ्क्रमित र स्क्रब टाइफस बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो दिनमा दैनिक ८ देखि १० जना बिरामी डेङ्गु सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

कार्यालयका अनुसार भदौ महिनामा मात्र ११० बढीलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । गत जेठ महिनादेखि बढ्न थालेको डेङ्गु सङ्क्रमितका बिरामी भदौ महिनामा आएर दोब्बरले बढेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हालसम्म १८२ जनालाई डेङ्गु पुष्टि भइसकेको छ । 

पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा हालसम्म १८२ जनामा डेङ्गु पुष्टि भइसकेको उहाँले बताउनुभयो । जिल्लाभित्रका अन्य स्वास्थ्य केन्द्र तथा निजी मेडिकल हलमा पनि ५० बढी डेङ्गु सङ्क्रमित बिरामी देखिएको बताइएको छ । पाल्पामा हालसम्म दुई जनाको डेङ्गुका कारण मृत्यु भइसकेको छ । 

पाल्पामा ११९ मा स्क्रब टाइफस

जिल्लामा पछिल्लो समय ११९ जनामा स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । डेङ्गुभन्दा ३० गुणा बढी मृत्युदर भएको स्क्रब टाइफसका बिरामी पाल्पा दिन प्रतिदिन बढ्दैगएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

पाल्पाका सबै स्थानीय तहमा स्क्रब टाइफसका बिरामी भेटिएका स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । स्क्रब टाइफसबाट जोगिन खेतबारीमा काम गर्दा, वनजङ्गल, झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर ढाकिने कपडा लगाउनुपर्ने डा. गिरीले बताउनुभयो । 

स्क्रब टाइफस सार्ने माइटको टोकाइबाट स्क्रब टाइफस सर्ने उहाँको भनाइ छ । शरीरलाई खुला राखेर झाडी तथा वनजङ्गलमा जान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, माइट किराले टोकेको स्थानमा रातो हुने र दाग बस्ने हुन्छ ।