• १ जेठ २०८२, बुधबार

रामपुरमा गाईको सालिक निर्माण

blog

पाल्पाको रामपुरमा निर्माण गरिएको गौशालिक । तस्बिर : इमानसिं राना

इमानसिं राना

रामपुर (पाल्पा), भाद्र २५ गते । गौहत्याको विरुद्धमा देशैभर कार्यक्रमहरू भइरहेका बेला पाल्पाको रामपुरमा गाैसालिक निर्माण गरिएको छ । रामपुर नगर गौशाला समितिले वडा ६, मिलनचोकमा कामधेनु गाईको सालिक निर्माण गरेको हो । 

गौसालिक सोमबार अनावरण गरी मिलनचोकलाई गौशाला चोक नामकरण गरिएको छ । गाई र दूध खाँदैगरेको बाच्छोसहितको गौसालिक वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा पश्चात् रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आज अनावरण गर्नुभयो ।

उपप्रमुख थापाले पछिल्लो समय धार्मिक विवादहरू बाहिर आइरहेको सन्दर्भमा सहिष्णुता कायम गर्दै एकले अर्को धर्मको सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले चल्दैआएकोे धर्म र संस्कृतिलाई निरन्तरता दिनु आवश्यक रहेको बताउनुभयो । 

उहाँले गाई राष्ट्रिय जनावर मात्रै नभई धार्मिक, सांस्कृतिक महत्त्व रहेकाले संरक्षणमा ध्यान दिनु हामी सबैको दायित्व रहेको बताउनुभयो । रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले पछिल्लो राष्ट्रिय जनावरसँगै माताको रूपमा पुज्दैआएको गाईको हत्या गर्ने, हेला गर्ने प्रवृत्ति बढ्दैगएकाले गाईको संरक्षणका लागि सन्देश प्रवाह गर्न गाईको सालिक निर्माण गरिएको बताउनुभयो ।

उहाँले सञ्चालनमा रहेको नगर गौशालाको पहिचानसँगै यसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न ९० हजारको लागतमा सालिक निर्माण गरिएको जानकारी दिनुभयो । 

रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाणले गौमाताले दैनिक जीवनमा मात्र नभई संस्कार र संस्कृति संरक्षणमा पनि टेवा दिने बताउनुभयो । पण्डित दिननाथ भण्डारीले गौमाताको महत्त्व सबैभन्दा ठुलो भए पनि अहिले सबैभन्दा हेलामा गाई परेको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुमाया ढकालले नेपालमा धार्मिक द्वन्द्व सिर्जना गर्न विभिन्न प्रयास भइरहेको भन्दै यसप्रति सचेत रहनु आवश्यक रहेको बताउनुभयो । 

पछिल्लो समय गाईलाई हेला गरेर छाडा छाड्ने क्रम बढ्दैजाँदा कृषकको बालीमा क्षति पुग्न थालेपछि रामपुर नगरपालिकाले २०७६ सालमा तातोपानी धाममा गौशाला स्थापना गरेको थियो । 

सोपश्चात नगरपालिकाको संरक्षणमा रामपुर नगर गौशाला समितिले गाईको व्यवस्थापन गर्दैआएको छ । भजनकृतका साथ भएको कार्यक्रममा धार्मिक तथा गौसंरक्षणका अभियन्ता, पण्डित, राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।