• ५ जेठ २०८१, शनिबार

इटहरीमा एम्बुलेन्स र शव वाहन निःशुल्क

blog

बाबुराम कार्की 

वराहक्षेत्र (सुनसरी), भदौ २५ गते । इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका नागरिकको लागि एम्बुलेन्स र शव वाहन सेवा निःशुल्क गरेको छ । उप महानगरले आज (सोमबार) बाट घरदेखि इटहरी अस्पताल र घरदेखी घाटसम्म शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको हो । इटहरी अस्पतालमा एक कार्यक्रमकाबिच उपमहानगर प्रमुख हेमकर्ण पौडेल र उप प्रमुख सङ्गीता चौधरीले संयुक्त रूपमा रिबन काटेर एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको हो ।

आजदेखि नै निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुचारु गरिएको उपमहानगरले जनाएको छ । उपमहानगर भरिका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले एम्बुलेन्स र शव वाहनको सेवा विस्तार गरिएको उप महानगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो । 

नगर प्रमुख पौडेलले इटहरीको नागरिकलाई सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउन आफू निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार गर्ने योजना अनुसार काम गरिरहेको छु । मेरो उद्देश्य इटहरीको जनताले उपचारका लागि नगर बाहिर जानु नपरोस् । कोही पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भनेर उपचारको सेवालाई इटहरी अस्पताल मार्फत सेवाहरू विस्तार गरिँदै लगिएको छ ।”

“पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढ्दै गएपछि एम्बुलेन्स र शव वाहनको अभाव भएकोले जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेका हौँ”, नगर प्रमुख पौडेलले भन्नुभयो । इटहरी अस्पतालमा विशेषज्ञ सहितको डाक्टरहरूको सुविधा भएसँगै बिरामीको चाप बढ्दै गएको छ । नगर अस्पताल बाट डेङ्गुको निःशुल्क परीक्षण हुँदै आएको छ । 

इटहरीलाई स्वास्थ्यमा सबल बनाउन भेन्टिलेटर सहितको आइसियु, डाइलोसिस सेवा, ट्रमा सेन्टर, प्रसूति सेवासहितको सुविधासम्पन्न बनाउन लागी परेको उप नगर प्रमुख पौडेलले बताउनुभयो ।