• ५ जेठ २०८१, शनिबार

आफैँले बोकेको झोला पासो लागेर वृद्धको मृत्यु

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, भदौ २५ गते । आफैँले बोकेको झोला पासो लागेर वृद्धको ज्यान गएको छ । जिल्लाको लिखु गाउँपालिका-६ रातेडाँडाका ६४ वर्षीय कुलबहादुर सुराली मगरको आफैँले बोकेको झोला बेरिएर ज्यान गएको हो । 

आइतबार साँझ ५ बजे सोही वडाको मिलनचोकबाट आलु सहितको झोला पछाडि पिठ्युँमा बोकेर घर फर्किएका मगर सोमबार बिहानसम्म पनि घर आई नपुगेपछि आफन्तले खोजी गर्दा झोलाको पासो लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । 

घरभन्दा करिब पाँच सय मिटर पश्चिम उत्तरतर्फ गोरेटो बाटोबाट लडेका मगर चिलाउनेको रुखमा उक्त झोला अल्झिएर घाँटीमा पासो लागेको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । साँघुरो गोरेटोबाटोमा भारी बोकेर हिँड्दा हुर्रिएर लडेको र रुखमा झोला अल्झिएर घाँटीमा पासो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । 

यस्तै, प्रहरी चौकी गाम्नाङ्गटारबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।