• १३ मंसिर २०८१, बिहिबार

चौतारी जोगाउँदै युवा

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ २५ गते । रुकुमपश्चिमका युवाले चौतारी संरक्षणमा जोड दिएका छन्। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१, लामिछानेगाउँका युवाले वरपिपल चौतारी निर्माण गरेर यस कार्यको सुरुवात गरेका छन्।  युवाले स्थानीयको समन्वयमा जनश्रममार्फत सार्वजनिक स्थानमा रहेको वरपिपलमा चौतारी बनाएका हुन्। 

पाटी, पौवा र चौतारी नासिँदै गएका बेला गाउँको सार्वजनिक स्थलमा रहेको वरपिपल चौतारी संरक्षण गरिएको स्थानीय तिलक सेन्चुरीले बताउनुभयो। उहाँका अनुसार सुरुवातमा चौतारी संरक्षण गरिएको र अब मठमन्दिर र सार्वजनिक स्थान संरक्षणमा युवा जोडिने छन्। अहिले गाउँको सबैभन्दा पुरानो सार्वजनिक स्थलमा रहेको वरपिपलको बोटमा चौतारी बनाइएको हो। गाउँमा हुने भेला, बैठक, छलफल तथा विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोग हुने गरी चौतारी प्लास्टर गरेर बलियो र आकर्षक बनाइएको सेन्चुरीले जानकारी दिनुभयो। 

स्थानीय अगुवा भक्तबहादुर भाटले युवाको पहललाई उदाहरणीय कार्य भएको टिप्पणी गर्नुभयो। उहाँले आफ्नो गाउँ बनाउन कस्सिएका युवाले वरपिपल चौतारीसँगै नजिकै रहेको राधाकृष्ण मन्दिर परिसर सरसफाइ गरेको जानकारी दिनुभयो। चौतारी प्लास्टरका लागि लाग्ने सिमेन्ट, बालुवा, गिट्टी, कामदार खर्च सबैतिर समन्वय गरेर र स्थानीय युवा परिचालन गरेर चौतारी बनाइएको थियो। यस कार्यले गाउँवासी खुसी भएका छन्। मन्दिरको सरसफाइ र सार्वजनिक स्थानको संरक्षण तथा मर्मतमा युवा आफैँले पहल गर्नु सकारात्मक भएको प्रतिक्रिया स्थानीयको छ। यो चौतारी गाउँवासी तथा यात्रुका लागि शीतल छहारीका साथै विभिन्न सामाजिक गतिविधिका लागि मुख्य स्थानका रूपमा प्रयोग हुँदै आएको छ ।