• १३ मंसिर २०८१, बिहिबार

जनहितमा समर्पित हुन आग्रह

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ २५ गते । सांसद छिरिङ डम्डुल लामाले कर्मचारीले जनताको हितमा आफ्ना कार्यलाई समर्पित गर्नुपर्ने बताउनुभयो। सांसद लामाले जिल्लामा विकासे काम सन्तोषजनक नदेखिएको चर्चा गर्दै छिटोछरितो र गुणस्तरीय काममा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले दुर्गममा कार्यरत कर्मचारीका लागि सरकारले दुर्गम भत्तासमेतको व्यवस्था गरेकाले दुर्गमका जनताको सेवालाई कर्मचारीले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। 

उहाँले काम गर्ने सिलसिलामा आउने बाधा, अवरोध र समस्याका बारेमा प्रत्यक्ष रूपमा आफूलाई सम्पर्क गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो। उहाँले भन्नुभयो, “जिल्लाका समस्या आफूलाई जानकारी भए संसद्मा बोल्न र सरकारको ध्यानाकर्षण गराउन पाउने छु।”

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको समन्वयमा सांसद लामा र कर्मचारीबिच आइतबार घेटघाट कार्यक्रम राखिएको थियो। कर्णाली प्रदेश सभाका सदस्य जुम्कित लामाले समस्यैसमस्या भएका कारण त्यससँग मुकाबिला गरेर काम गर्नुपर्ने बाध्यता कर्मचारीलाई रहेको चर्चा गर्नुभयो। उहाँले हुम्लाको काम गर्न कर्मचारीका लागि धेरै चुनौती पनि रहेको चर्चा गर्दै समस्या परेमा आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले सङ्घ तथा प्रदेश सरकारबाट ढिलोमा मङ्सिर महिनाभित्र थप कार्यक्रम आउने व्यवस्थाका लागि पहल गरिदिनुहुन सांसदलाई आग्रह गर्नुभयो। आर्थिक वर्ष सम्पन्न हुने महिना असार दोस्रो सातासम्म सङ्घ तथा प्रदेश सरकारबाट निकासा आउनाले काम गर्न कठिन हुनुका साथै बजेटलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको कर्मचारीको गुनासो रहेको थियो। 

हवाई सेवा अवरुद्ध

हुम्लामा तीन दिनयता हवाई सेवा अवरुद्ध भएको छ। मौसममा आएको खराबीका साथै शनिबार रातिबाट लगातार वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो। नागरिक उड्डान प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले शुक्रबारयता सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको जानकारी दिनुभयो।

उहाँले दुई दिन लगातार खराब मौसम र शनिबार रातिबाट वर्षा भइरहेका कारण कुनै पनि उडान हुन नसकेको बताउनुभयो। लोक सेवा आयोग र अन्य परीक्षा दिने विद्यार्थीका साथै बिरामीसमेत सिमकोटमै रोकिएका छन्। तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा एक सयभन्दा बढी यात्रु सिमकोटमा रोकिएका छन्। नेपालगन्जबाट मानसरोवर कैलाशको दर्शनका लागि आउने तयारीमा रहेका पर्यटक नेपालगन्जमै रोकिएका छन्।