• १३ मंसिर २०८१, बिहिबार

आपूर्ति केन्द्रलाई भण्डारण समस्या

blog

कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको नयाँ बन्दै गरेको भवन ।

बुलबुले समाचारदाता

सुर्खेत, भदौ २५ गते । कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ हुँदा भाडाको घरबाट एक वर्षदेखि सञ्चालन भइरहेको छ। मासिक ४० हजार भाडा तिरेर आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ। प्रदेश औषधी आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीका अनुसार भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधी नेपालगन्जमा स्टोर गर्ने गरिएको हो। भाडाको घर भएकाले आवश्यक उपकरण र औषधी भण्डारण गर्न समस्या हुने गरेको छ।

उहाँले भन्नुभयो, “गत वर्ष नै भवन हस्तान्तरण हुनुपर्ने हो। निर्माण व्यवसायीको ढिलाइले गर्दा अझै काम सकिएको छैन। औषधी भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधी मात्र केन्द्रमा ल्याउने गरिएको छ।” प्रदेश सरकारले ४१ प्रकारका औषधी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गर्दै आएको छ। केन्द्रले खोप तथा खोप लगाउन प्रयोग गरिने अन्य सामग्री प्रदेशका दस वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ। भवन नहुँदा औषधी भण्डारण गर्न समस्या हुने गरेको छ।

भवन निर्माणमा ढिलासुस्ती

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको छ। सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन। जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो। सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि म्याद थप गरिएको थियो। थप गरिएको समयावधि सकिनै लाग्दासमेत भवन निर्माणको कामले गति लिन सकेको छैन। बरु निर्माण कम्पनीले दोस्रो पटक म्याद थपका लागि निवेदन पेस गरेको छ।

पहिलो पटक थपिएको म्याद अनुसार एक महिना बाँकी रहेको छ तर काम गर्न धेरै बाँकी रहेको बताइन्छ। निर्माण व्यवसायी तारा शाहीले भवन निर्माणका लागि म्याद थप गर्न सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइमा निवेदन पेस गरिएको बताउनुभयो। उहाँका अनुसार सामान ढुवानी बाहिरी जिल्लाबाट गर्नुपर्दा समस्या भएको छ। कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्य वृद्धि, निर्माण सामग्रीको उपलब्धता नहुनुलगायतका कारण समयमा नै काम गर्न नसकिएको बताइन्छ। 

वर्षाले समेत काममा असर पारेको दाबी आयोजनाको छ। सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी लागिपरेको र बढीमा पाँच महिना म्याद थपका लागि निवेदन पेस गरिएको बताइन्छ। भवन निर्माणको ८० प्रतिशत काम सकिएको दाबी आयोजनाको छ। सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइ सुर्खेतले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। कार्यालयका इन्जिनियर गोकर्ण थापाले म्याद थप गर्नुभन्दा समयमै काम सम्पन्न गर्न ताकिता गरिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले तीव्र गतिमा काम भइरहेको छ। थापाले २०८० असोजसम्म भवन निर्माणको सम्झौता रहेको जानकारी दिनुभयो।