घोराही समाचारदाता
घोराही, भदौ २५ गते । बसचालक वसन्त पन्थीलाई सवारीसाधन चलाउँदा आफ्नो स्वास्थ्य जाँच गर्नेबारेमा समेत फुर्सद मिल्दैन। सधैँ जसो काममा खटिने पन्थीले सडकमै आफ्नो आँखा जचाउन पाउनुभयो। जसले गर्दा अस्पताल पुगेर जचाउनुपर्ने बाध्यता अहिलेलाई टरेको छ।
पन्थीले मात्रै होइन, पूर्वपश्चिम राजमार्ग भएर लामो तथा छोटो दुरीमा सवारीसाधन चलाउने चालक र सहचालकको निःशुल्क आँखा जाँच गरिएको छ। नजिकिँदै गरेका चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले आँखा जाँच गर्ने अभियान चलाएको छ। सोही अभियानअन्तर्गत आँखा जाँच गराउनुभएका चालक पन्थीले भन्नुभयो, “फुर्सद हुँदैन। जचाउन अस्पताल जाम भने भिडभाड हुन्छ। काममा खटिएकै बेला सडकमा आँखा जाँच गर्न पाउँदा खुसी लागेको छ।”
दाङमा चालक र सहचालकको सडकमै आँखा जाँच्न थालिएको छ। चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनका चालक तथा सहचालकको आँखा जाँच्न थालिएको हो। दृष्टि कमजोर हुँदा दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले आँखा अस्पतालको सहयोगमा अभियान चलाएको हो। सडकमै काममै भएको समयमा आँखा जाँच गराउन पाउँदा खुसी लागेको अर्का चालक शङ्कर चौधरी बताउनुहुन्छ। उहाँले भन्नुभयो, “आँखा जचाउन पाउँदा ढुक्क छु। नियमित जाँच हुने व्यवस्था गरे अझ सहज हुने थियो। हामी चालकको स्वास्थ्यप्रति ध्यान दिएर शिविर चलाएकोमा धन्यवाद।”
आँखा जाँचका क्रममा चालक र सहचालकको आँखामा दृष्टि दोषको समस्या देखिएको छ। ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख तीर्थराज भुसालका अनुसार नजिक र टाढा नदेख्ने चालकसमेत भेटिएका छन्। यसरी आँखामा समस्या भएका चालकका कारण सवारी दुर्घटना हुने जोखिम भएकाले समयमै आँखा जाँच गर्ने अभियान चलाइएको हो। प्रमुख भुसालले भन्नुभयो, “चाडपर्व आउँदैछन्। दुर्घटना बढ्न सक्छ। त्यही भएर अहिले नै चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालेका हौँ।”
उहाँले चालकको आँखा जाँच अभियानले दुर्घटनामा कमी आउने आशा व्यक्त गर्दै भन्नुभयो, “आँखाको दृष्टि कमजोर हुँदा पनि दुर्घटना हुन सक्ने जोखिम भएकाले सडकमै आँखा जाँच गर्ने अभियान थाल्यौँ।” आँखा अस्पतालको प्राविधिक सहयोगमा ट्राफिक प्रहरी कार्यालयले निःशुल्क आँखा जाँचको सुविधा मिलाएको थियो। शिविरमा दुई सयभन्दा बढी चालक र सहचालकले सेवा लिनुभएको छ। नियमित आँखा र प्रेसर जाँच गर्न सल्लाह दिएको लमही आँखा अस्पतालका नेत्र सहायक आरजु खनालले बताउनुभएको छ। उहाँले भन्नुभयो, “दृष्टिमा पनि समस्या भएका चालक भेटिनुभएको छ। उहाँहरूलाई चस्माको जाँच गराउन सल्लाह दिएका छौँ। चालकमाथि धेरै जिम्मेवारी र संवेदनशील काम भएकाले सतर्क भइरहनु पर्छ।”