• १ जेठ २०८२, बिहिबार

साढे दुई सय हेक्टर वन क्षेत्र अतिक्रमण

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, भदौ २५ गते । काभ्रेपलाञ्चोक जिल्लामा रहेको वन क्षेत्रमध्ये व्यक्तिगत तथा संस्थागत प्रयोजनका नाममा झन्डै साढे दुई सय हेक्टर वन क्षेत्र अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा रहेको वन क्षेत्रमध्ये व्यक्तिगत तथा संस्थागत प्रयोजनका लागि भन्दै २४३.९९ हेक्टर अर्थात् चार हजार ८७९.९ रोपनी जमिन अतिक्रमण भएको हो । 

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत न्हुच्छे श्रेष्ठले जिल्लामा व्यक्तिगत प्रयोजनका लागि १८९.९८ हेक्टर र संस्थागत (विद्यालय तथा अन्य कार्यालय) प्रयोजनका लागि ११९ हेक्टर वन क्षेत्र अतिक्रमण गरिएको बताउनुभयो । 

उहाँले व्यक्तिले अतिक्रमण गरेको जग्गामा घरटहरा, कृषि खेती, होटल, बसोबास, खरपाखो र संस्थागत रूपमा अतिक्रमण भएको जग्गामा विद्यालय भवन, गुम्बा, भवन, स्वास्थ्य चौकी, खेलकुद मैदान, मन्दिर, हुलाक कार्यालय, सेना, वृद्धाश्रमलगायतका संरचना निर्माण गरिएको बताउनुभयो । 

उहाँले जिल्लामा अतिक्रमण भएको वन क्षेत्रमध्ये हालसम्म स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ९१.४८ हेक्टर अर्थात् एक हजार ८२९.६ रोपनी अतिक्रमण हटाइएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७६/७७ मा नगरकोटका ३९ घरटहरा र आव २०७९/८० मा पाँचखाल नगरपालिका–२ स्थित लौकिनी घ्याङलेख सामुदायिक वनको ३.५ हेक्टर जमिन (७४ रोपनी) जग्गाको अतिक्रमण हटाइएको बताउनुभयो । 

सहायक वन अधिकृत श्रेष्ठले पाँचखालस्थित लौकिनी घ्याङलेख सामुदायिक वनको अतिक्रमण हटाई नेपालबाट लोप हुन लागेका विजय साल, सतीसाल, दार र निमका करिब एक सय बिरुवा रोप्ने काम गरिएको बताउनुभयो ।