• २९ वैशाख २०८२, सोमबार

सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई लखेटिरहेको छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानी–छानी लखेटिरहेको आरोप लगाउनुभएको छ ।

मीनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरूलाई सरकारले दुःख दिने काम गरेको उहाँको भनाइ छ । पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा भन्नुभयो । 

राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम सरकारले गरेको उहाँले टिप्पणी गर्नुभयो ।  यति होल्डिङलाई खेद्नेहरू दलाल पुँजीवादीहरू भएको भन्दै ओलीले यस्ताहरूको विरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताउनुभयो । 

सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादले मुलुकमा तमासा देखाइरहेको बताउनुभयो । उहाँले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? सरकारलाई प्रश्न गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘मीनबहादुर गुरुङलाई किन समातेको होला ? पाँच छ जनाले खरिद गरिसकेको जमिन, उसले धनिपूर्जा हेरेर किन्यो । अर्कोसँग धनिपूर्जा हेरेर भूमिसुधारमा गएर पास गरेको होला नि । त्यसरी पास गरेर जग्गा किनेको मान्छेलाई किन कारबाही ?’ 

त्यसैगरी, सोलुको एउटा शेर्पाले यहाँ आएर हवाईजहाज उडाएको छ । पर्यटन क्षेत्र पनि चलाएको छ । होटल पनि चलाएको छ । यो त राष्ट्रिय पुँजी हो नि उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले बैङ्कहरूले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभयो । ठुला पुँजीपतिलाई खोजेर अरबौँ लगानी गर्ने बैङ्कहरूले अझै पनि गरिबलाई ऋण दिन तयार नभएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले साना बैङ्क तथा वित्तीय संस्थाले बाख्रापालनजस्ता व्यवसायका लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्नेगरेको बताउनुभयो । 

अध्यक्ष ओलीले गरिबलाई पनि बैङ्कहरूले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रूपमा ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो । अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्त्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासमा लागि सरकारलाई पनि सचेत गराउनुभयो ।