• २९ वैशाख २०८२, सोमबार

राष्ट्रले पूर्व न्यायाधीशको योग्यता र अनुभवको लाभ लिनुपर्छ : उपराष्ट्रपति यादव

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटपछि पूर्व न्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंह नेतृत्वको आठ सदस्यीय टोली । तस्बिरः उपराष्ट्रपतिको कार्यालय

काठमाडौं, भदौ २४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पूर्व न्यायाधीशको योग्यता र अनुभवको लाभ राष्ट्र र समाजले लिन सक्नुपर्ने बताउनुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बधाई तथा शुभकामना दिन पुग्नुभएका पूर्व न्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंह नेतृत्वको आठ सदस्यीय टोलीसँगको भेटमा आइतबार उहाँले उक्त कुरा बताउनुभएको हो । 

‘‘नेपालको संविधानले तीन तहको सरकारसँग सङ्घात्मक शासन व्यवस्था अवलम्बन गरेकोमा स्थानीय तहलाई मात्र न्यायिक अधिकार प्रदान गरेको अवस्था छ’’, उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘संविधानको धारा २१७ ले गाउँपालिका र नगरपालिकाको न्यायिक समितिलाई सानातिना मुद्दा मामिला समाधान गर्न दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन पूर्व न्यायाधीश फोरम नेपालले गर्नसक्ने सहयोग गर्नुपर्दछ ।’’ 

उहाँले फोरमका पदाधिकारीहरूले स्थानीय तहको न्यायिक समितिलाई सक्षम र सबल बनाउनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।  

पूर्व न्यायाधीश फोरम नेपालका पदाधिकारीले सबै न्यायिक समितिका पदाधिकारीलाई सैद्धान्तिक एवं व्यवहारिक तालिम प्रदान गर्ने योजना आफूहरूको रहेको बताएका थिए । यसको सुरुवात मधेश प्रदेशबाट गरिने जानकारीसमेत दिएका थिए ।