बिन्दु थापा
पाल्पा, भदौ २४ गते । जननायक बिपी कोइरालाको ११५ औँ जयन्ती विभिन्न कार्यक्रमका साथ पाल्पामा मनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति र मातहतका विभिन्न निकायले जयन्तीको अवसरमा कार्यक्रम गरेका छन् ।
बहुआयामिक व्यक्तित्व बिपी कोइरालाको सिद्धान्तलाई आत्मसात् गर्दै फरक किसिमले कार्यक्रम सञ्चालन भएको कांग्रेस पाल्पाका सचिव सन्तोष थापाले जानकारी दिनुभयो ।
जसमा पार्टीका सभापति हिमालदत्त श्रेष्ठ, पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, पूर्व केन्द्रीय सदस्य राजन पन्तको सहभागिता थियो ।
प्रमुख दुई वक्ता त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका उपप्राध्यापक शारदा खनाल र उपप्राध्यापक महेन्द्र पन्थीले बिपीको जीवनी, बिचार र चुनौतीहरू बारेमा प्रकाश पार्नुभयो ।
वि.स. २०३९ साउन ६ गते दिवङ्गत हुनुभएका बिपी कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनका साथै साहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्दै बिपीको मेलमिलाप र समाजवादसम्बन्धी अवधारणा नेपालको राजनीतिमा सान्दर्भिक रहेको भनाइ व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीले काँग्रेस एक भएर बिपीको बाटोमा हिँड्नुपर्ने बताउनु भएको थियो । बिपीले अङ्गालेको राष्ट्रियता समाजवाद र लोकतन्त्रको मूल मर्मलाई आत्मसात् गर्दै अघि बढ्न सके बिपीप्रति सच्चा श्रद्धाञ्जली हुने भनाइ राख्नुभयो ।