गजेन्द्र गुरुङ
खजुरा, भदौ २४ गते । गत शुक्रबार बाँकेको शम्शेरगञ्जनजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी घाइते भएकाका स्वास्थ्य अवस्था बुझन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अस्पताल पुग्नुभएको छ ।
आइतबार मुख्यमन्त्री चौधरीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १३ जना घाइतेलाई प्रत्यक्षरुपमा भेटेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो । उपचाररत घाइते बिरामीलाई उपचारमा कमी कमजोरी आउन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।
उपचाररत घाइतेको स्वास्थ्य लाभको कामना गर्नु समेत गर्दै उहाँले घाइतेहरूको उपचार र मृतकहरूको राहतका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।
अस्पतालका प्रमुख सुनिल सिंहले उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी दिनुभयो । अस्पतालमा उपचार सम्भव नभएकालाई रिफर गरिएको र सम्भव भएकाहरूको उपचार कोहलपुरमै सफल रूपमा भइरहेको प्रमुख सिंहले जानकारी दिनुभयो ।
घाइतेहरूको उपचारमा कमी हुन नदिन र उपचारलाई छिटोछरितो तथा प्रभावकारी बनाइने बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले दुर्घटनाबाट सिङ्गो प्रदेश नै मर्माहत भएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले दुर्घटनामा परी मृत्युवरण गर्नेहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुभयो । दुर्घटनाले बर्दियाको ठाकुरद्वारा नगरपालिकाका व्यक्तिहरूको मृत्यु भएको र त्यसले समाजमा ठुलो क्षति पुगेको चौधरीले बताउनुभयो ।
दाङका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण सकेर बर्दिया फर्कनेक्रममा सवारी साधन बाँकेको शम्शेरगञ्जमा दुर्घटना हुँदा सात जनाको मृत्यु र २३ जना घाइते भएका थिए ।