• १२ असार २०८१, बुधबार

अकबरे खेतीप्रति किसान आकर्षित

blog

आठराई त्रिबेणी गाउँपालिका –५ चाँगेका एक किसानको बारीमा फलेको अकबरे खुर्सानी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २४ गते । ताप्लेजुङका किसान पछिल्लो समय अकबरे खुर्सानी खेतीमा आकर्षित हुन थालेका छन् । कम मेहनत र परिश्रमबाटै राम्रो उत्पादन गर्न सकिने भएपछि जिल्लाका किसान अकबरे खेतीमा आकर्षित हुँदैगएका हुन् ।

अकबरे खुर्सानीबाट मनग्य आम्दानी हुने भएपछि किसानहरु यसको खेतीतर्फ आकर्षित भएका पाइएको छ । अन्य बालीको तुलनामा कम मिहिनेत गर्नुपर्ने र पानी तथा मल पनि कम (न्यून) भए पुग्ने भएकाले अकबरे खुर्सानीको खेती गर्न सजिलो भएको किसानहरुको भनाइ छ । 

एक पटक लगाएको बिरुवाबाट अर्को वर्षसम्म पनि उत्तिकै उत्पादन हुने (फल्ने) हुँदा अकबरे खेतीबाट राम्रो फाइदा हुने किसानको भनाइ छ । सुरुमा न्यून किसानले मात्रै अकबरे खुर्सानीको खेती लगाउने गरेका थिए । अकबरे खुर्सानी अधिक उपभोक्ताले रुचाउनुका साथै उत्पादनबाट आम्दानी राम्रो गर्न सकिने आठराई त्रिबेणी गाउँपालिका –५ का स्थानीय सागर आङ्बुहाङले बताउनुभयो । 

उहाँका अनुसार उपभोक्ताको माग र उत्पादनबाट हुने आकर्षक आम्दानीका कारण किसानले व्यावसायिक रुपमै अकबरे खुर्सानीको खेती लगाउन थालेका छन् । स्थानीय जातको अकबरे खुर्सानी अधिकांश उपभोक्ताले मन पराउने गर्दछन् । आफैँले उपभोग गर्न र कोसेलीका रुपमा टाढा पठाउनसमेत अकबरे खुर्सानीको अधिक माग हुनेगरेको उहाँले बताउनुभयो ।

सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित जिल्लाका अधिकांश स्थानीय तहका किसानले अकबरे खेती लगाउने गरेका छन् । सदरमुकाममा साताको मङ्गलबार र शनिबार हाट लाग्ने भएकाले फुङ्लिङ नगरपालिकाको साविक फुङ्लिङ, दोखु र हाङ्देवाका किसानले तुलनात्मक रुपमा बढी अकबरेको व्यावसायिक रुपमा लगाउँदै आएका छन् । 

जिल्लाका किसानले उत्पादन गर्ने अकबरे धेरै परिमाण सदरमुकाम र मेरिङ्देन गाउँपालिका –३ खाम्लुङको दोभानमा लाग्ने हाटबजारमै बिक्री गर्ने गर्छन् । मागअनुसार जिल्ला बाहिरसमेत अकबरे खुर्सानी पठाउने गरिएको किसानको भनाइ छ । किसानका अनुसार अकबरे खुद्रा मूल्य प्रतिकिलोग्राम २५० देखि ३५० रुपियाँसम्ममा बिक्री गर्ने गरिएको छ ।