• १४ जेठ २०८१, सोमबार

भेरी अस्पतालमा 'हिस्टो प्याथोलोजी' सेवा

blog

‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिरहेको नेपालगन्जस्थित भेरी अस्पताल ।

सिराज खान 

नेपालगन्ज, भदौ २४ गते । भेरी अस्पतालमा विभिन्न विशेषज्ञ सेवा र आधुनिक जाँच सेवा थपिँदै गएका छन् । स्वास्थ्य उपचारका लागि अतिनै आवश्यक मानिने एमआरआई मेसिन जडान हुने प्रक्रियामा रहेकै बेला सो अस्पतालमा क्यान्सर रोग पत्ता लगाउन गरिने जाँच अर्थात् ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको हो । 

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले क्यान्सर पत्ता लगाउन जाँच गर्न बाहिर पठाउनु परेकोले बिरामीलाई समस्या हुने गरेकोले अस्पतालमै हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले यसका लागि क्यान्सर रोग जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सकिएको बताउनुभयो । अध्यक्ष शाहले थप्नुभयो, “क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरेर थप प्रक्रिया अगाडी बढाईएको छ, छिटै मेसिन आउने आशामा छौं।” 

अध्यक्ष शाहका अनुसार अस्पतालले हाल आपतकालीन प्रयोगशाला जाँच २४ सै घण्टा र ओपिडी प्रयोगशाला बिहान १० बजेदेखी अपरान्ह ५ बजेसम्म सञ्चालन गर्दै आएको छ । प्रयोगशालामा दैनिक चार सय जनाले विभिन्न प्रकारका परिक्षण गराउँदै आएका छन् । 

अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रले पनि अब छिट्टै हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको जनाउँदै यसबाट पश्चिम नेपालका धेरै बिरामीलाई समयमै रोग पत्ता लगाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिस्टो प्याथोलोजी सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढिसकेको छ, भेरीमा यो सेवा सुरु भएपछि क्यान्सरसम्बन्धी बिरामीलाई धेरै राहत मिल्नेछ ।” 

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि केही समय अघिबाट हिस्टो प्याथोलोजी सेवा सञ्चालनमा आएको छ । तर, भेरी अस्पतालमा पनि यो सेवा सुरु भएपछि पश्चिम नेपालका विभिन्न अस्पतालबाट पनि क्यान्सर पत्ता लगाउन नमुनाहरु यहाँ पठाइने जनाइएको छ ।