• १३ मंसिर २०८१, बिहिबार

आधारभूत शिक्षा कार्यान्वयन

blog

कुशे गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा । तस्बिर : सहदेव बस्नेत

जाजरकोट समाचारदाता

जाजरकोट, भदौ २४ गते । यहाँको कुशे गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ। यसका लागि आवश्यक सबै सूचकहरू पूरा भएपछि गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो।

कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले कुशेले गरेको यो अभ्यास कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नुपर्ने सुझाव दिनुभयो। अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार २०८५ सालसम्म सबै नागरिकलाई आधारभूत तहसम्मको शिक्षामा पहुँच पुर्‍याउने व्यवस्था उल्लेख गरिएको छ। 

कुशे गाउँपालिकाका–४ देखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा आएको दाबी गरिएको छ। गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्म सात हजार ४८४ जना बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदान गरिरहेको बताउनुभयो।

विद्यालयको पहुँच बाहिर रहेका ९६ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएको, अपाङ्गता भएका नौ जनालाई घरमै विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी उहाँले दिनुभयो। 

आठ जना अपाङ्गता भएका बालबालिकालाई जिल्लाभित्र र एक जनालाई जिल्लाबाहिरका स्रोत विद्यालयमा पढ्ने सुनिश्चितता गरिएको अध्यक्ष बस्नेतको भनाइ छ। विद्यालय शिक्षालाई प्रभावकारी बनाउन कुशे गाउँपालिकामा रहेका ५५ वटै विद्यालयमा गाउँपालिका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबिच २७ बुँदे विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता भएको छ। 

गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख जनकबहादुर शाहले सबै विद्यालयलाई विद्यालय शान्ति क्षेत्रका रूपमा घोषणा गरिएको बताउनुभयो। आगामी दिनमा विद्यालयका भौतिक पूर्वाधारहरू बालमैत्री, अपाङ्गतामैत्री बनाउनमा जोड दिइने छ र समावेशी शिक्षालाई प्रवर्धन गरिने शाहको भनाइ छ।