• १८ पुस २०८१, बिहिबार

लिमीमा पहिलो पटक पुग्यो सार्वजनिक बस

blog

लिमीको तुम्लिङमा पुगेको सार्वजनिक बस । तस्बिर सौजन्य : कुन्चोक तामाङ

राजन रावत

हुम्ला, भदौ २३ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक सार्वजनिक बस पुगेको छ । हिल्सा पब्लिक यातायात प्रालिको बस शनिबार दिउँसो लिमीमा पुगेको हो । 

प्रालिका सञ्चालक विजय लामा सडक त्यति राम्रो नभए पनि परीक्षणका लागि सल्लीबाट पाँच हजार मिटर अग्लो न्यालु लेकबाट लगिएको बस लिमीको तुम्लिङमा पुगेको बताउनुभयो । उहाँले सडक कच्ची भएका कारण लिमी पुगाउन कठिन हुने अनुमान गरिएको भए पनि बिग्रेको सडक मर्मत गर्दै सफलतापूर्वक बस लिमी पुगाउन सफल भएको बताउनुभयो । 

लिमीमा बस पुगेसँगै स्थानीयले स्वागत गरेका छन् । बस लिमीमा पुगेपछि नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकलाई सहज हुने अनुमान गरिएको छ । बोलेरो जिपबाट यात्रा गर्दा यसअघि महँगो भाडा तिर्नुपर्ने अवस्था थियो । 

उहाँले सडकको अवस्था राम्रै भएको कारण आवश्यकताअनुसार केमी र याल्वाङबाट बस सेवा सञ्चालन गरिने बताउनुभयो । सो खण्डमा यसअघि बोलेरो जिप, ट्याक्टर र टिप्पर सञ्चालन हुँदैआएका थिए । रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक दुई बस आएका थिए । दुई बसमध्ये एउटा बस लिमी पुगेको हो ।