राजनीतिक व्यक्तिमा भावना कम्ती हुन्छ । बुद्धिप्रधान हुन्छ । मानवीय भावना र अन्तर्मूल्यसँग सरोकार राख्दैन । त्यसै कारणले छिट्टै बहिष्कृत पनि हुन्छ– शुद्ध राजनीतिक व्यक्ति । पद, प्रतिष्ठा खुस्किनासाथ तिरस्कृत हुन्छ ।
संसारका थोरै मात्र व्यक्तिहरूमा हुने विशेषता व्यक्ति एक, व्यक्तित्व अनेक– बोकेका विश्वेश्वरप्रसाद कोइराला नेपाली धर्तीका वरदपुत्र हुन् । राजनीतिक क्षेत्रमा प्रजातान्त्रिक समाजवादका व्याख्याता एवं प्रयोक्ता बिपी कोइरालाको नाम यस युगका विश्वकै राजनीतिकमा गनिन्छ । नयाँ प्रयोग र नयाँ विचारका कारण साहित्य जगत्मा पनि बिपीको नाम अग्रपङ्क्तिमा रहेको छ ।
व्यक्ति आफ्नै मात्र प्रयासले महान् बन्न सक्दैन । देश, काल, परिस्थिति, परिवार, समाज, सत्सङ्ग एवं स्वयं व्यक्ति विशेषको प्रतिभा योग्यता, लगनशीलता र साधनासमेत मिल्नु पर्छ । यी सबैको समन्वय बिपी कोइरालाको व्यक्तित्व कृतित्व निर्माणमा सम्भव भएको छ । दुई भिन्नभिन्न दिशा, राजनीति र साहित्यलाई समान रूपमा सञ्चालन गर्ने ‘सव्यसाची’ कोइराला बहुआयामिक व्यक्तित्वका धनी हुन् ।
महात्मा गान्धीको प्रभाव, भारतीय स्वतन्त्रता सङ्ग्राम, जेलजीवन, नेहरू, जयप्रकाश, लोहिया, राजेन्द्रप्रसाद जस्ता व्यक्तिहरूको राजनीतिक सम्पर्क आफ्नै विशाल सत्सङ्ग र पारिवारिक कारण बिपी व्यक्तित्वमा विशेष प्रभाव परेको थियो ।
राजनीतितर्फ उनको के कति योगदान छ ? के के गरे ? त्यसको लेखाजोखा गर्नुभन्दा पनि बिपीको साहित्यिक पक्ष उद्घाटन गर्नु प्राथमिकता रहेको छ । यस राजनीतिक आधारभूमिले पनि बिपीको साहित्यिक यात्रालाई सहयोग पुर्याएको हुँदा यति प्रसङ्ग जोडिएको हो । उनले भनेका छन्, “कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ । उसलाई हिँडिसकेको बाटोमा खुट्टा चाल्न मन लाग्दैन, आफूले हिँड्ने बाटो आफैँ बनाउन चाहन्छ ।”
साहित्य सभ्यताको प्रतीक भएको कुरालाई मान्नुहुने बिपीका जीवनको अधिकांश समय राजनीतिक चिन्तन र प्रयोगमै बिते । राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे छुट्टा छुट्टै चिन्तन गरेर समन्वयात्मक प्रयोग गर्ने बिपी हरेक मान्छेलाई एउटा कौतूहलताको विषय ठान्छन् । र साहित्यमा प्रवेश गर्नुपर्ने कारण उनी आफैँ भन्छन्– “मेरो साहित्यमा हात हाल्नुको उद्देश्य व्यक्तिलाई निहार्नु र वैयक्तिक धारणा वा विचारलाई साहित्यका माध्यमबाट व्यक्त गर्नु थियो ।”
राजनीतिभित्रको रुखो जीवन अर्थात् केही झुठ, केही कपट, केही जालझेल, केही द्वेष र केही अहङ्कार मिलेर एउटा सिङ्गो राजनीतिक जीवन निर्माण हुने गर्छ भनिन्छ । त्यस कारण राजनीतिमा स्वार्थभन्दा माथि उठेका व्यक्ति थोरै मात्र हुन्छन् । राजनीतिक व्यक्तिमा भावना कम्ती हुन्छ । बुद्धिप्रधान हुन्छ, मानवीय भावना र अन्तर्मूल्यसँग सरोकार राख्दैन । त्यसै कारणले छिट्टै बहिष्कृत पनि हुन्छ– शुद्ध राजनीतिक व्यक्ति । पद, प्रतिष्ठा खुस्किनासाथ तिरस्कृत हुन्छ तर राजनीतिक व्यक्ति पनि मानवको मानवभावना र मानवमूल्य चिन्न र बुझ्न सक्ने भयो भने युगौँसम्म ध्रुवतारा बनिरहन सक्छ । जस्तो बिपी कोइराला ।
बिपीको साहित्यिक यात्रा– बिपीको राजनीतिक र साहित्यिक यात्राको थालनी एकैचोटि भएको थियो । बिपीको ‘माटोले यथार्थवादी र पानीले भाववादी बनाउँछ’ भन्ने मान्यता छ । साँच्चै नै १५ वर्षकै उमेरमा राजनीतिक कारणले जेल पर्नु र सोही सालको हंस पत्रिकामा पहिलो कथा ‘वहाँ’ छापिनु सँगसँगैको संयोग देखिन्छ ।
बिपीमा साहित्यिक भावना भर्ने काम पनि उनको त्यस ठुलो परिवारले नै ग¥यो । उनको त्यस ठुलो परिवारमा धेरैथरीका मान्छे– बुढाबुढी, विधवा, परित्यक्ता र नमिल्दा जोडीहरू थिए । त्यही मानव स्वभाव र मानव– मानस अध्ययन गर्ने, बुझ्ने अवसर मिल्यो । पछि गएर बिपीमा साहित्यचेत भर्ने शान्तिप्रिय द्विवेदी र नेपाली साहित्यतर्फ प्रेरित गर्ने, उकास्ने सूर्यविव्रmम, त्यसअघि पठनपाठनमा आधुनिक शिक्षा र खुला उदार वातावरण सिर्जना गरिदिने पिता कृष्णप्रसाद कोइराला उनका पृष्ठभूमि थिए ।
दुई दर्जनजति कथाहरू-छ वटा उपन्यास- एउटा औपन्यासिक आफ्नै जीवनी÷एक दर्जनजति कविता र एउटा अपूर्ण नाटक, जेल जर्नल फेरि सुन्दरीजल आत्मवृत्तान्त आदि बिपीको साहित्यिक देन हुन् । “राजनीति नियमग्रस्त सामाजिक वस्तु भए साहित्य स्वच्छन्द वैयक्तिक तìव हो,” बिपीको धारणा प्रस्ट छ । यसै कारण राजनीतिज्ञ बिपी र साहित्यकार बिपीको धारणा प्रस्ट छ । यसै कारण राजनीतिज्ञ बिपी र साहित्यकार बिपीमा भिन्नता छ । दुवै पक्ष स्वतन्त्र छन् । साहित्यिक चिन्तन र लेखनलाई स्वतन्त्र छोडिदिएको हुँदा नै बिपीको साहित्यिक यात्रा सफल रह्यो ।
यसै बेलाबाट बिपीका कथामा नौलो प्रयोग सुरु भयो । मानव मनका अन्तर्तह खोतलेर, सूक्ष्म रूपमा हृदय केलाएर कथामा प्रयोग गर्ने नयाँ परम्पराको थालनी बिपीबाट भयो । यद्यपि समकालीन कथा उपन्यासकार– मैनाली, रुद्रराज, रूपनारायण, सम, पुष्कर, भिक्षु, गोठाले आदिले नयाँ प्रयोग गरेका थिए । तर उनीहरूबाट सामाजिक यथार्थता, परम्परागत मान्यता, रूढि अन्धविश्वाससमेत जोडेर मानिसका बाह्य संरचनाको मात्र वर्णन भएको देखिन्थ्योे ।
यस्तो बेलामा एकैचोटि नयाँ प्रयोग भयो बिपीबाट । पूर्ववर्ती र समवर्तीलाई चटक्कै छोडेर बिपीको एक्लो साहित्यिक यात्रा प्रारम्भ भयो । “साहित्य जीवन जस्तै व्यापक छ । यथार्थमा समग्र जीवनको प्रतिविम्ब नै साहित्य हो ।” साँच्चै नै बिपीका कथा उपन्यासको सामग्री बाह्य विषयभन्दा अन्र्ततह बढी पाइन्छ ।
कथामा मनोविश्लेषण (मानव– मनोभावग्रन्थीको विश्लेषण), दमित– यौन भावनालाई खोतलेर प्रयोग गर्ने (यौन मनोविश्लेषण) कामको थालनी बिपीबाट भयो । बिपीले सामाजिक यथार्थता, व्यक्ति– बाह्य संरचना प्रधानता र चरित्रप्रधान त्यस बेलासम्मको लेखन परम्परा तोडेर मनोभाव प्रधान र विचारप्रधान लेखनको विकास र उत्थान गरेको देखिन्छ । वास्तविक साहित्यकार परम्परागत सामाजिक निषेधतिर रहेर लेख्न सक्तैनन् । बिपीले आफ्ना समग्र कृतिमा परम्परागत धारणा र मान्यतालाई खोक्राे देखाएर त्यस खोक्राेपनमा नयाँ आस्था, धारणा र विचार प्रस्तुत गरेका छन् । यसै कारण बिपीलाई मनोविश्लेषणवादी र अस्तित्ववादी साहित्यकारको संज्ञा दिने गरेका छन्– समालोचकहरूले ।
दर्शन– बिपीका कृतिहरूमा पाइने विचित्र तत्व हो दर्शन । वेदान्त, साङ्ख्य र गीताका साथै अन्य विविध पक्षबाट प्रभाव ग्रहण गरेर राखिएको सारसङ्क्षेपले उपन्यासको भावपक्ष समेटिएको छ । हिटलर र यहुदी, मोदिआइन र साधारण रूपमा सुम्निमा विभिन्न दर्शनको चिन्तनबाट प्रभावित छन् । पृथ्वीको भार हरण गर्ने छल रचेर एउटा साधारण व्यक्ति अर्जुनलाई संवेदना शून्य बनाएर त्यत्रो महाभारत युद्ध रच्ने कृष्णलाई बिपी एउटा क्रुर मानवतारहित अतिमानवका रूपमा हेर्छन् । गीताको महत्व र चरितार्थ बिपीका दृष्टिमा कतै छैन । त्यत्रो नरसंहार गरेर पनि अर्जुन निर्बल भएर सिद्धिए । कृष्ण एउटा साधारण व्याधाबाट मारिए । अरूलाई सिध्याएर आफूसमेत सिद्धिइनुपर्ने यस्तो संहार रचेर गीता र कृष्णले के दिए त ? यो निरुत्तरित प्रश्न अझै ताजा छ ।
हिटलर र कृष्णमा त्यति फरक देख्दैनन् बिपी । मान्छेमा अहम् चढेपछि आफूलाई सर्वगुण सम्पन्न ठान्दछु । महाभारतका कृष्णमा मानवेतर दैवत्व चढेको थियो र हिटरलरमा अमानवीय प्रवृत्ति ..... । बिपीका दृष्टिमा दुवै समान हुन् । मान्छे मान्छेकै रूपमा रहनु पर्छ । दैवत्व वा पशुत्वमा जानुहुन्न । यो बिपीको दर्शनसार हो । त्यस्तै सुम्निामाका माध्यमबाट शारीरिक शुद्धता रहे पनि मानसिक अशुद्धता भयो भने जीवन सफल हुन सक्दैन भन्ने किटान गरिएको छ । यौन मर्यादा पनि राखिएको छ सुम्निमामा । यौन गोप्य र एकाङ्की हुन्छ । यसलाई मर्यादित एकनिष्ठताभित्र राख्नु पर्छ । छाडा छोड्नु हुँदैन भन्ने कुरा देखाएको छ । त्यसै कारण अवचेतनासँगको समागमपछि सोमदत्त र पुलोमालाई पापाबोध र घृणात्मकताले सताउँछ ।
यस विचारलाई राम्ररी नियाल्दा बिपी भोगवादी र स्वच्छन्दतावादी होइनन् ।
यौनदृष्टि– यौनका सम्बन्धमा पूर्वीय आध्यात्मिक इन्द्रिय निग्रहसम्बन्धी धारणा र परम्पराको विपरीत छ– बिपीको यौनदृष्टि । विभिन्न मर्यादा, आदर्श नैतिकताको खोक्राे आडम्बरको खोल ओढाएर मान्छेको शरीर त रोकिएला तर मन रोक्न सकिँदैन । मान्छे शरीर मात्र होइन, स्थुल वस्तु मात्र होइन । बलात् यौन दमन गरेर मनमा कुण्ठा र विकृति पालेर बस्नु हुँदैन भन्ने कुरामा बिपीको तर्कपूर्ण विवेचना छ ।
नारी अस्मिताको उत्थान – प्रायः बिपीका समग्र कथा, उपन्यास नारीपात्र प्रधान छन् । बिपीले नारी शोषण, उत्पीडन, तिरस्कार, अवहेलना, यातना र मानसिक पीडाभित्रै सीमित रहेका, खोक्राे आडम्बर र चरित्रका खोलमा अर्ती उपदेश मात्र पिलाइएका, पुरुष अहम्लाई मात्र सम्मान गर्न बाध्य गराइएका नारी वर्णनका विपरीत नारी अस्मिता उठाउने विचार र चिन्तन भरिएका रचना दिएका छन् । नारीहरू आत्मविश्वास, आत्मस्वतन्त्रता, अपराधबोध रहित एवं स्वावलम्बी भएर बाँचेका छन् । नारी उत्थानसँग सम्बद्ध समान दृष्टि छ– बिपीको लेखनमा । यौनेच्छा र सन्तानेच्छा नारी जीवनका मुख्य आवश्यकता हुन् । यसलाई सामाजिक, धार्मिक वा नैतिक जस्ता बन्धनले रोक्नु हुँदैन । नारीप्रति कत्रो उदार र सर्वाङ्गीण विकास धारणा छ, बिपीको । यसरी उनी स्वयं नारी झैँ भएर नारीमन केलाउन सफल भएका छन् ।
सार्वङ्गीण विकास चाहना — राजनीति साहित्यको विषय बन्न सक्छ तर साहित्य र राजनीतिमा कुनै किसिमको सम्बन्ध हुँदैन । बिपी राजनीतिक क्षेत्रमा प्रजातन्त्र, आर्थिक पक्षमा समाजवादी दृष्टि राख्छन् । एकैचोटि राष्ट्रियता, प्रजातन्त्र र समाजवादको स्थापना गरेर राष्ट्रलाई राजनीतिक रूपले स्थिर र दृढ बनाउन चाहने बिपी दार्शनिक दूरदर्शिताका साथ साहित्यिक साधना एवं सांस्कृतिक समन्वयसमेत गरी राष्ट्रको सर्वाङ्गीण विकासको उच्चतम दृष्टि राख्नु बिपीका लेखनको उद्देश्य हो ।
सम्भवत: यसै कारण बिपीले राजनीतिक दृष्टि राखेर साहित्य सिर्जना गरेनन् तर साहित्यभित्र राजनीतिका कतिपय विचार अटाएका छन् । “उपन्यासमा मैले कथा भन्न खोजेको छुइन । विचार दिन चाहेको छु !” बिपीकै भनाइले विचारप्रधान छन् उनका कृतिहरू भन्ने कुरा प्रस्ट हुन्छ । साहित्यकार स्रष्टा र द्रष्टा दुवैै हुन्छ भन्ने प्रस्ट भएको छ । ‘मोदिआइन’ हिटलर र यहुदीको विचारले पनि बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई प्रस्ट पारिदिएको छ ।
यसरी प्रसिद्ध राजनीतिक, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बिपी कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् ।