तिलाचन पाण्डे
तम्घास, भदौ २२ गते । गुल्मी अदालतमा गत आर्थिक वर्षमा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गराएका छन् ।गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी परेका कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
७३ मुद्दामध्ये ५६ थान मुद्दा फर्छ्याेट भएको र १७ थान मुद्दा फर्छ्याेट गर्न बाँकी छन् । मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्ध विच्छेद गरीपाउँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएको कुँवरले जानकारी दिनुभयो ।
विशेषगरी श्रीमान वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने गरेको कुँवरले बताउनुभयो ।
यस्तै, महिलाले पुरुषसँग सम्बन्ध विच्छेद गरीपाउँ भनी दिएको ३०९ थान मुद्दामध्ये २७२ थान मुद्दा फर्छ्याेट भएको र ३७ थान मुद्दा फर्छ्याेट गर्न बाँकी रहेको अदालतले जनाएको छ ।
महिलाले पुरुषसँग सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नुका कारणमा घरेलु हिंसा, कुटपिटलगायतका कारणहरु रहनेगरेको अदालतले जनाएको छ । यस्तै, जिल्ला अदालत गुल्मीमा गत आर्थिक वर्षमा करणीसम्बन्धी ३४ थान मुद्दा रहेकोमा २७ थान मुद्दा फर्छ्याेट भएको र ७ थान बाँकी रहेको अदालतले जनाएको छ ।
गत आर्थिक वर्षमा जिल्ला अदालतमा ७१२ थान मुद्दा रहेकोमा ५७६ थान मुद्दा फर्छ्याेट भएको र बाँकी १३६ मुद्दा रहेकाले कुल मुद्दाको ८० दशमलव ८९ प्रतिशत छ ।
योजनाले निर्धारण गरेअनुसार वार्षिक रुपमा फैसला गर्नुपर्ने मुद्दाको सङ्ख्या ४७२ मध्ये असार मसान्तसम्म ५७६ थान मुद्दा फर्छ्याेट भएकाले लक्ष्यभन्दा १०४ मुद्दा बढी फर्छ्याेट भएकाले लक्ष्यको १२२ दशमलव ०३ प्रतिशत मुद्दा फर्छ्याेट भएको अदालतले जनाएको छ ।