जानु पाण्डे
कपिलवस्तु, भदौ २१ गते । कपिलवस्तु शिवराज नगरपालिका–११ जालिमवगियाका जीवन आचार्य २०७४ सालमा वैदेशिक रोजगारीको लागि कतार पुग्नुभएको थियो ।
कतार एयरवेजमा क्यासीयरको रूपमा काम गर्दा खाना प्याक गर्न एल्मुनियको कन्टेनरको प्रयोग भएको देख्नुभएको थियो । ती कन्टेनर प्रयोग गर्दा खाना धेरै समयसम्म सुरक्षित राख्न सकिने हुँदा प्रयोग बढ्दैगएको थाहा पाएपछि उद्योग खोल्ने सोच बनाउनुभयो ।
स्नातक अध्ययन गरेका ३० वर्षीय आचार्य रोजगारी नपाएपछि कतार जानुभएको हो । तीन वर्ष काम गरेपछि नेपाल फर्किनुभयो । नेपाल फर्किएपछि ६ महिनासम्म नेपाल–भारतमा रहेका उद्योगका अवलोकन गर्नुभयो । विदेशको आम्दानीबाट बचत भएको ३५ लाख खर्चगरी मेसिन खरिद गर्नुभयो । अहिले उद्योगमा डेढ करोड बढी लगानी गर्नुभएको छ ।
आचार्यले भन्नुभयो, ‘मैले उद्योग खोल्न सुरु गर्दा करिब आधा दर्जन उद्योग खुलेको थाहा पाएको थिएँ । उद्योगको सङ्ख्या न्यून देखिएपछि लगानी गरेको थिएँ । अहिले २ दर्जन बढी उद्योग भइसकेका छन् । पहिला प्लास्टिकको थैली, कागज वा पातले बनेका प्याकेटमा खाजा प्याक गरीदिने प्रचलन थियो । अहिले एल्मुनियम कन्टेनरको प्रयोग ग्रामीण भेगमा समेत पुगेको छ ।
माग बढ्दै गएपछि चिनमा बनेको आधुनिक मेसिन प्रयोग गरिएको छ । जसले दैनिक उत्पादन क्षमता ३ लाख रहेको उहाँले बताउनुभयो हाल आर्थिक मन्दीले माग कम हुँदा दैनिक १ लाख उत्पादन भइरहेको उहाँको भनाइ छ ।
स्थानीय बजारमा यसको माग बढे पनि खुद्रा व्यापारमा समय धेरै खर्च हुनेगरेको छ । सीमावर्ती क्षेत्रबाट अवैध रूपले भित्रिने भएको हुँदा बिक्री न्यून छ । कपिलवस्तु जिल्लालगायत बुटवल, भैरहवा, काठमाडौँ, वीरगन्ज, नेपालगन्ज, धनगढीबाट माग आउनेगरेको आचार्यले बताउनुभयो ।
उद्योगमा मेसिन अपरेटरसहित पाँच जना कामदार छन् । चिन र भारतबाट मासिक आठ मेट्रिक टन कच्चा पदार्थ खपत हुनेगरेको छ । उत्पादनका आधारमा देशभरिका उत्कृष्ट पाँच उद्योगभित्र पर्ने आचार्यको दाबी छ ।