• १४ मंसिर २०८१, शुक्रबार

रामजानकी मन्दिर संरक्षणमा जोड

blog

बाबुराम कार्की  

वराहक्षेत्र (सुनसरी), भदौ २१ गते । सुनसरीको प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिर संरक्षणको काम वडा कार्यालयको अगुवाइमा सुरु भएको छ । वराहक्षेत्र वडा १० प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिर चार दशक अगाडि स्थानीय माईराम चौधरीले स्थापना गर्नुभएको थियो । 

केही वर्षदेखि मन्दिरको नित्यकर्मसमेत बन्द छ । मन्दिर संरक्षण र सम्वर्द्धनको अभावमा मन्दिरको सिमाना अतिक्रमण हुँदै आएपछि स्थानीय सरकारले मन्दिरको संरक्षण गर्न र मिचिएको जग्गा निकाल्ने काम भएको छ । 

“तीन कठ्ठा १७ धुर क्षेत्रफलमा रहेको मन्दिरको घेराबारा उपभोक्ता समिति गठन गरेर वाल लगाउने काम भएको छ । वडा क्षेत्रभित्र रहेका मठ, मन्दिर, पाटीपौवा लगायत सार्वजनिक चल, अचल सम्पत्तिको संरक्षण र संम्वद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो । अहिले सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो पुस्ताले नगरे भावी पुस्ताले हामीलाई धिक्कार्ने छ । मन्दिरको जग्गा अतिक्रमण हुँदै गएपछि १५ लाख बजेट विनियोजन गरेर मन्दिर क्षेत्रको सिमाना छुट्याई पर्खाल लगाउने काम गरिसकेका छौँ,” वडाध्याक्ष तेजबहादुर गुरुङले भन्नुभयो ।

रामजानकी मन्दिरको संरक्षण गर्न स्थानीय सरकार लागेपछि स्थानीयहरू पनि खुसी भएका छन् । “स्थानीयको जनभावना अनुसार जनप्रतिनिधिले काम गरेकोमा हामी खुसी छौँ” स्थानीय राममणि आचार्यले भन्नुभयो  ।

मन्दिरको दक्षिणपट्टिको केही फिट जग्गा मिचिएको थियो । नक्साअनुसारको छुट्याएर वाल निर्माणको काम सम्पन्न गरेको वाल निर्माण समितिका अध्यक्ष केशव राईले बताउनुभयो । प्रकाशपुर बजार क्षेत्रभित्र रहेको जग्गालाई संरक्षण गरेर मन्दिरलाई सञ्चालन गर्न स्थानीयहरूले पटक पटक पहलकदमी गरेपनि हुन सकेको थिएन ।

मन्दिर सञ्चालनमा आएपछि दैनिक बिहान, बेलुका पूजापाठ गर्न पुजारीको व्यवस्था, धर्मशाला र विवाहमण्डप निर्माण गरी वडा क्षेत्रमा हुने रातीको विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरू गर्न समेत सहज हुने अध्यक्ष गुरुङको भनाइ छ । मधेशी समुदायमा रातिको विवाह गर्ने परम्परा भएको हुँदा सबैलाई सहज होस् भनेर आवश्यक निमार्णका कामहरू समेत चाँडै सुरु गर्ने वडा कार्यालयले जनाएको छ ।