• ५ असोज २०८१, शनिबार

बेलायतमा घन्किन्छ नौमती बाजा

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), भदौ २१ गते । रोजगारी र पेसा व्यवसायका क्रममा बेलायतमा बसोबास गर्ने म्याग्देली नौमती बाजा संरक्षणमा जुटेका छन् । म्याग्दी, बागलुङ र पर्वतबाट बेलायत पुगेकाहरू सङ्गठित भएर चौध वर्षअघि धौलागिरि नौमती बाजा समूह बनाएर संरक्षण र प्रचारप्रसारमा जुटेका छन् । जन्म ठाउँको नौमती बाजालाई विदेशी भूमिमा पनि घन्काउन र नयाँ पुस्तालाई सिकाउन उनीहरू जुटेका हुन् । 

बेलायतमा आयोजना हुने नेपाली कार्यक्रममा नौमती बाजा समूहका सदस्य पुग्ने गर्छन् । पछिल्ला केही वर्षयता बेलायतमा मात्र होइन युरोपका अन्य देशमा समेत नौमती बाजाको माग हुने गरेको छ । नौमती बाजामा नेपाली मात्र होइन विदेशी नागरिक पनि रमाइलो गरी नाच्ने गरेको धौलागिरि नौमती बाजा समूहका अध्यक्ष म्याग्दीका बिल पुर्जामगरले बताउनुभयो । विदेशलाई कर्मथलो बनाए पनि आफ्नो लोकसंस्कृति प्यारो लाग्ने उहाँले बताउनुभयो । 

पुर्जाले भन्नुभयो, “नेपालको कला संस्कृतिमार्फत बेलायतमा भएका नेपालीलाई जोड्न नौमती बाजा समूह सफल भएको छ । जन्म ठाउँ छाडेर विदेश आए पनि आफ्नो कला संस्कृति नै प्यारो लाग्छ । जहाँ हुन्छौँ त्यहीँ हाम्रो संस्कृतिको संरक्षण गर्नु पर्दछ ।” नौमती बाजा घन्काउन दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा उनीहरूले नेपालबाटै बेलायतसम्म पु-याएका हुन् । सहनाई, सनही, ठुलो दमाहा, सानो दमाहा, झ्याम्टा र मुजुरालगायत नौमतीका लागि चाहने सबै बाजा समूहसँग छ । नेपाली पोसाकमा सजिएर महिला र पुरुष बाजा बजाउन उपस्थित हुने गर्छन् । 

पुर्जाले भन्नुभयो, “विदेशी भूमिमा आएर नेपाली नौमती बाजा घन्काउँदा गर्व लाग्ने रहेछ । जन्मभूमि छाडेर आए पनि मौलिक कला संस्कृति वेशभूषा आफ्नै प्यारो लाग्ने रहेछ ।” बेलायतमा मात्र होइन युरोपको अन्य देशबाट समेत नौमती बाजाको माग आउने गरेको उहाँले बताउनुभयो । नौमती बाजा बजाएर सङ्कलन भएको रकम सामाजिक काममा सहयोग गर्ने गरेको उहाँको भनाइ छ । बेलायतमा आयोजना हुने विवाह, व्रतबन्ध, चाडपर्व र विभिन्न कार्यक्रममा नौमती बाजा बजाउने गरेका छन् । उनीहरूले युवालाई पनि नौमती बाजा बजाउन सिकाउने गरेका छन् ।