खोटाङ समाचारदाता
खोटाङ, भदौ २१ गते । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । नगरपालिकाले आव २०७९/८० मा ७३ करोड ९० लाख २३ हजार १८५ अनुमानित बजेट ल्याएको थियो । यसमा कुल बजेटको ८६.६ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९०.५४ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ७८.२८ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै नगरपालिकाले आव २०७९/८० मा एक करोड ११ लाख १५ हजार ७२१ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो । सार्वजनिक सुनुवाइ कार्यव्रmमको उद्घाटन सङ्घीय सांसद रामकुमार राईले गर्नुभएको थियो । सांसद राईले हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो । अहिले देशमा गल्ती गर्नेहरूले सजाय पाइरहेको भन्दै उहाँले सुशासन कायम हुँदा कसैले धर नपाउने बताउनुभयो । ठुलो सङ्घर्षबाट स्थानीय तह निर्माण भएकाले जनप्रतिनिधि सबैको साझा हुनुपर्ने उहाँको भनाइ थियो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । आफ्नो कामको नगरपालिका आफैले सार्वजनिक सुनुवाइ गर्नुभन्दा अन्य निकायलाई गर्न लगाउँदा अझै विश्वसनीय हुने भएकाले सेवा प्रदायक संस्थालाई सार्वजनिक सुनुवाइ गर्न दिएको प्रमुख विमला राईले बताउनुभयो ।