• १३ मंसिर २०८१, बिहिबार

लोप हुँदै चिनो बाली

blog

स्वमिकार्तिकमा उत्पादन भएको चिनो । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, भदौ २० गते । बाजुराका विभिन्न ठाउँबाट पछिल्लो समय चिनो बाली लोप हुँदै गएको छ । बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदह लगायतका केही ठाउँमा पहिले चिनो खेती लगाइन्थ्यो ।

पछिल्लो समय बाजुराका प्रत्येक स्थानीय तहमा सडक सञ्जालको पहुँच भएसँगै ती गाउँ बस्तीमै चालम पुग्न थालेपछि चिनो खेती पनि विस्तारै हराउँदै गएको हो । गाउँ बस्तीमा सडकको पहुँच हुनु र घरघरमा चामल पुग्नु र चिनो कुट्न गाह्रो हुने र यो चामलको भात जस्तो स्वादिलो पनि नहुने हुनाले चिनो खेती बिस्तारै घट्दै गएको यहाँका स्थानीय महिला बताउँछन् ।

बाजुराको हिमाली क्षेत्रमा पर्ने हिमाली स्वामिकार्तिक जगानाथ गाउँपालिकामा परा पूर्वकालदेखि नै चिनोको खेती लगाउने गरेको पाइन्छ । सामान्यतया चिनोकै नामले चिनिने यस बालीको धान जस्तो बोट र कोदो जस्तो दाना हुने हुनाले कतैकतै धान कोदो पनि भन्ने चलन छ । यो बाली धानको विकल्पको रुपमा लगाउने गरिन्थ्यो ।

चिनोको दाना सुगा लगाएत अन्य चराहरूले मन पराउने हुनाले यसलाई ‘चरी अन्न’ पनि भन्ने चलन छ । विशेषगरी कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा खाद्यान्न बालीका रुपमा खेती गरिदै आएको यस बालीको वानस्पतिक नाम पेनिकम मिलिएसिएम रहेको पाइन्छ । 

नेपालको उच्च पहाडी भेगमा करिब ३,५०० मिटर उचाइ सम्म वर्षा याममा यसको खेती गरिन्छ । चिनो कुट्न गाह्रो हुने र यो चामलको भात जस्तो स्वादिलो नहुने हुनाले यसको खेती र उपयोगिता घट्दै गएको कतिपय जेष्ठ नागरिक बताउँछन् । उसो त यो बाली छोटो समय तयार हुन्छ । बाली लगाउँदा कम पानी कम मल भएपनि हुन्छ । तर पनि पछिल्लो समय यो बाली हराउँदै गएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।

उहाँले, पहिला बाजुराका अधिकांश ठाउँमा चामलको पहुँच नभएको र त्यतिबेला यहाँका स्थानीयले चामलको विकल्पको रुपमा पनि यो खेती लगाउने गरेको बताउनुभयो । अहिले घर आँगनमै चामल पुग्न थालेपछि चिनो हराउँदै गएको उहाँको भनाइ छ ।

बाहिर चिप्लो हुने र ओखलमा मुसले कुट्न पनि गाह्रो हुने भएकोले यहाँका स्थानीयहरुले यो खेती लगाउन छाडेको हो । अहिले पछिल्लो समय यसको औचित्य बुझेपछि स्वामिकार्तिकको जेरामा चिनो खेती गर्न सुरु गरेको छ । 

कृषि ज्ञान केन्द्रले चिनोको खिरको बनाएर दिएको र स्थानीयले पनि त्यसको स्वाद पाएपछि बल्ल चिनो बाली संरक्षणमा लागेका हुन् । बाजुराका न्यून रुपमा रहेको चिनो खेती बिना पानीमा हुने गरेको धानको अर्को विकल्पको रुपमा रहेकोले चिनो खेती गर्न पाठशाला चलाएपछि यहाँका स्थानीयले चिनो खेती गर्न थालेको छ । 

चैतमा लगाएको जेठ असार र असारमा लगाएको असोज कार्तिक गरी दुई पटक खेती खान मिल्ने यो बाली किसानका लागि निकै उपयोगी छ । चिनोमा फेनोल्स, फाइटेट्स नाम गरेका क्यान्सर निरोधक रसादिहरू (फाइटोकेमिकल्स) र क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फोस्फरस, सोडियम, म्यान्गानेज र आइरन जस्ता अक्सिकरण निरोधक खनिज लवणहरू पाइन्छन् ।

यी रसादी र खनिज लवणहरूले हाम्रो शरिरमा खाना पच्ने क्रममा बन्ने सुपर अक्साइड ऋणात्मक तत्व, हाइड्रोक्सिल तत्व, हाइड्रोजन पेरोक्साइड, एकल अक्सिजन नाम गरेका प्रतिकृयाशिल आणविक अक्सिजन तत्वरुपहरू (फ्रि रेडिकल्स) बन्न दिँदैनन् ।

चिनोले त्यस्ता बनेका आणविक तत्व रुपहरूलाई निष्कृय पार्दछन् र शरिरका कोषहरूमा भएका चिल्लो पदार्थ, कोष झिल्लि, प्रोटिन, न्युक्लिक एसिड आदि जैविक अणुहरूको अक्सिकरण हुनबाट रोकी उक्त कोषहरू या तन्तुहरूको विनास हुनबाट बचाउँछ । यसले क्यान्सर, हाडजोर्नी दुख्ने, कलेजो सम्बन्धी रोग, रक्तनली साँघुरिएर हुने हृदयघात लगायत अन्य मुटुरोगहरू, माइग्रेन तथा मृगौलाको पत्थरी जस्ता रोगहरू हुन दिँदैन चिनोमा पाइने फोस्फरस तत्वले शरीरका ग्रन्थिहरूको विकास एवम् पाचन प्रकृयामा मद्दत गर्ने विज्ञको भनाइ रहेको सूचना अधिकारी जैशीले बताउनुभयो ।

चिनोबालीको वास्तविकता नबुझेपछि पछिल्लो समय यहाँका स्थानीयले यो बाली लगाउन छाडेको छ । मानव स्वास्थ्यका लागि चिनो निकै उपयोगि रहेकोले यसको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि अहिले गाउँपालिकाले यहाँका स्थानीयलाई चिनो खेतीप्रति उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ ।

हराउँदै गएको चिनो खेतीको उत्पादन गर्नका लागि गाउँपालिकाले चिनो खेती उत्पादनमा विषेश जोड दिँदै आएको स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले यती बेला गाउँपालिकाको जेरा वाइमा चिनो खेती लागउन सुरु गरेको त्यो खेती निकै राम्रो भएको बताउनुभयो । योभन्दा पछिपछि यो ठाउँमा उत्पादन गरेको चिनो देशका विभिन्न ठाउँमा चिनाउँने गरी उत्पादनमा जोड दिँदै जाने उहाँले जानकारी दिनुभयो ।