सिराज खान
नेपालगञ्ज, भदौ २० गते । पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको छ ।
सो अस्पतालमा ब्लड क्यान्सरका बिरामीको पनि उपचार सुरु गरिएपछि रक्त सञ्चार सेवा केन्द्र अति आवश्यक परेकाले स्थापना गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा.निरज भट्टराईले अस्पतालमा ब्लड क्यान्सरको उपचार सेवा सुरु गरिएसँगै रक्त सञ्चार केन्द्र अति आवश्यक परेको हुँदा खजुरा गाउँपालिका, अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको समन्वयमा रक्त सञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो ।
सो रक्त सञ्चार केन्द्रको उद्घाटन बाँके क्षेत्र नम्बर ३ का सङ्घीय सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै उहाँले यो सेवा यहाँ सुरु गरिएपछि क्यान्सर अस्पतालका बिरामीलाई आवश्यक पर्ने रगतका लागि अब नेपालगञ्ज र कोहलपुर जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका अध्यक्ष गोवर्धनसिंह सम्झनाले रेडक्रस सोसाइटीले नेपालगञ्ज र कोहलपुरमा ब्लड बैंक सञ्चालन गर्दै आएकोमा अब खजुरामा पनि सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीलाई सहज हुने बताउनुभयो ।
अस्पतालका निर्देशक डा. भट्टराईले क्यान्सर अस्पतालमा बिरामीका लागि दिनदिनै नयाँ नयाँ सेवा सुविधा थप हुँदै गएको बेला रक्त सञ्चार केन्द्र पनि स्थापना भएकाले अब रगतका लागि निबै सहज हुने बताउनुभयो । उहाँले यो अस्पतालमा बिरामीको सहज उपचारका लागि रक्तसञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएकोमा खजुरा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ठूलो सहयोग गरेको बताउनुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले क्यान्सर अस्पतालमा बिरामीहरु सेवा लिन टाढाबाट आउने भएकाले रक्तसञ्चार केन्द्र आवश्यक भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले हाल भेरी अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गरी सेवा दिँदै आएको छ ।