राधा नेपाली
सन्धिखर्क, भदौ २० गते । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राष्ट्रिय परिचयपत्र वितरण अभियान गरी हालसम्म ५५ हजार तीन सय ४१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । राष्ट्रिय परिचयपत्रका बारेमा सर्वसाधारणलाई कम जानकारी भएको र सेवा लिन आउनेको सङ्ख्या पनि उत्साहजनक नभएपछि प्रशासनले वडास्तरमै अभियान सञ्चालन गरेको हो ।
जिल्लाका छ पालिकामध्ये पाँच पालिकामा अभियान सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले शीतगङ्गा नगरपालिकामा सञ्चालनको तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार ५५ हजार ३४१ जनामध्ये सबैभन्दा धेरै सन्धिखर्क नगरपालिकामा १४ हजार १९ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् ।
भूमिकास्थान नगरपालिकामा १२ हजार नौ सय जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् भने मालारानी गाउँपालिकामा १० हजार आठ सय ७४ जनाले लिएका छन् । अभियानका संयोजक मुकेश साहले पाणिनि गाउँपालिकामा सात हजार तीन सय २० र छत्रदेव गाउँपालिकामा नौ हजार नौ सय २८ जनाले परिचयपत्र लिएको जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वडामा गएर राष्ट्रिय परिचयपत्रका लागि विवरण लिने काम भएको छ ।
पञ्जीकरण विभागद्वारा सञ्चालित कार्यव्रmमलाई जिल्ला प्रशासन कार्यालयले समन्वय गरी अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत वडा वडामा गएर व्यक्तिको नागरिकतामा भएको सम्पूर्ण विवरण र जैविक विवरण लिइएको साहले बताउनुभयो । उहाँले भन्नुभयो, “जैविक विवरणमा हातको १० औँलाको प्रिन्ट, आँखाको स्क्यान र हस्ताक्षर पनि सङ्कलन गरिन्छ ।” प्रशासनका अनुसार परिचयपत्र प्राप्त गरेपछि नागरिकता लगायतका अन्य सरकारी परिचयपत्र बोक्नु पर्दैन । व्यक्तिको सबै वितरण समेटिएको डिजिटल कार्डलाई राष्ट्रिय परिचयपत्र भनिन्छ । प्रशासनले अभियानस्वरूप हाल निःशुल्क सेवा दिइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले राष्ट्रिय परिचयपत्र लिएपछि अन्य व्यक्तिगत कागजात पेस गर्नु नपर्ने र सेवा प्रवाहमा पनि सहज नहुने भएकाले व्यक्ति र सरकार सबैलाई राम्रो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले सेवा प्रवाहमा सहज हुनुका साथै शुद्धीकरण हुन्छ । अपराध अनुसन्धानमा पहिचान गर्न सजिलो हुन्छ । कागजातमा छलछाम भए पनि व्यक्तिको जैविक विवरणले गर्दा सहज र छिटो हुन्छ ।” आगामी दिनमा राष्ट्रिय परिचयपत्रको महìवका बारेमा जनचेतना अभिवृद्धि गर्दै सबैलाई परिचयपत्र प्रदान गरिने उहाँको भनाइ छ ।
तर, जिल्लामा राष्ट्रिय परिचयपत्रको प्रिन्ट कार्ड प्राप्त गर्न भने समय लागिरहेको ढकालले बताउनुभयो । उहाँका अनुसार हालसम्म दुई हजार ४८ वटा कार्ड वितरण भएका छन् । काठमाडौँबाट सर्भरमा परीक्षण गरी उही प्रिन्ट भएर आउने भएकाले ढिला हुुने गरेको उहाँको भनाइ छ ।
प्रिन्ट कार्ड लिन आउँदा सम्बन्धित व्यक्ति नै आउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रिन्ट कार्ड प्राप्त नगर्दासम्म आवश्यक भएकालाई परिचयपत्रमा उल्लेख भएको विवरणसहितको पत्र दिने गरिएको छ ।