• १० मंसिर २०८१, सोमबार

सम्पादकीय

नेपाली क्रिकेटको आभा

blog

श्रीलङ्काको पलेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसिया कप–२०२३ अन्तर्गत सोमबार भारतसँगको क्रिकेटमा नेपालको जित अपेक्षामै थिएन । नेपाल ‘डकवर्थ लुइस’ को नियम (गणितीय सूत्र) अनुसार भारतसँग १० विकेटले पराजित हुँदा पनि नेपाली क्रिकेट टोली र खेलप्रेमीहरू जितको मनोविज्ञानमा रहेका छन् । पहिलो पटक यो प्रतिस्पर्धामा सहभागी नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर आफ्नो छवि चम्काएको छ । एसिया कप क्रिकेटमा नेपाल विश्वकै शक्तिशाली टोलीहरू पाकिस्तान र भारतसँग प्रतिस्पर्धामा उत्रिन सफल हुनु रोमाञ्चित विषय नै हो । अझ भारतसँग खेल्दा पहिलो पालिमै बलियो सामथ्र्य देखाउन सक्नु आफैँमा ऐतिहासिक हो । एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको सपना नै थियो । खेलको परिणाम अनुमान अनुरूप नै थियो – विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा एक हजार ३४ खेल खेलेको भारतलाई नेपालले अहिले नै हराउन सक्दैन । राम्रो खेलेर सम्मानजनक हैसियत देखाओस् भन्ने आमनेपाली कामना पूरा गर्यो नेपाली टोलीले । खेलाडीले नेपाल भविष्यमा क्रिकेट शक्ति बन्न सक्ने आभा चम्काएका छन् । 

गत वैशाखमा घरेलु मैदानमा अपार दर्शकबिच एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा चयन भएको हो । कुल १० टिम सहभागी त्यो प्रतियोगितामा युएई, ओमान जस्ता बलिया समूहबिच नेपालले उपाधि जितेको हो । त्यो प्रतियोगिताबाट नेपालले एसिया कपमा खेल्ने पक्का भयो । विश्व क्रिकेटमा चम्किएका भारत र पाकिस्तान छिमेकी देश भए पनि नेपालको पहुँचमा थिएन । द्विपक्षीय शृङ्खलाको पहल हुँदा भारत र पाकिस्तान ‘कमजोर नेपाल’ सँग खेल्न सहमत थिएनन् । यस पटक नेपाल आफ्नै बलबुतामा एसिया कपमा चयन भएर तीसँग प्रतिस्पर्धा गर्यो । नेपालले यी दुवै महाशक्ति समूहलाई हराउन सकेन तर टक्कर दिएर सफल भविष्यको आशावादी बनायो ।

वर्षाले प्रभावित प्रतिस्पर्धामा खेल भारतले १० विकेटले जित्यो, मन चाहिँ नेपालले । मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डेलगायतका विश्वस्तरका भारतीय बलरलाई नेपालका नयाँ ब्याट्सम्यानहरू आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामीले जसरी सामना गर्नुभयो, त्यो प्रशंसित छ । यो खेलअघि पाकिस्तानसँगको खेलमा नराम्रो हार बेहोरेको नेपाली टोली अर्को विश्वस्तरीय बलिङ आक्रमणमा सोत्तर हुने हो कि भन्ने चिन्तामा नेपाली खेलप्रेमी थिए तर नेपाली खेलाडी त्रसित थिएनन्, निर्भीक रूपले भारतको सामना गरे । 

यस पटक नेपाली टोलीको प्रदर्शनको प्रशंसा नेपालीले मात्र होइन, भारतीय खेलाडी तथा टिप्पणीकारले समेत गरेका छन् । यस प्रतियोगितापछि क्रिकेट विज्ञहरूले विश्व व्रिmकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाललाई बढीभन्दा बढी सहयोग गर्नुपर्ने बताउँदै छन् । नेपालको क्रिकेट लगाव अतुलनीय रहेको भन्दै भारतीय प्रतिष्ठित खेलाडीले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्न सहयोग गर्नुपर्ने बताएका छन् । आइसिसीले पनि नेपाललाई ठुलो सम्भावना बोकेको देशका रूपमा लिएको छ । एसिया कपको प्रभावले अब नेपाली क्रिकेटरहरू विभिन्न देशमा हुने ‘फ्रेञ्चाइज लिग’ मा पुग्ने छन् । यस्तो सकारात्मक धारणा सिर्जना गर्न सफल नेपाली टिम भने अन्तरिक द्वन्द्वबाट पिल्सिइरहेको छ । नेपाल व्रिmकेट सङ्घ (क्यान) नेतृत्व र कार्यशैलीमा पटक पटकका विवादले क्रिकेट जगत् विभाजित मनस्थिति अनि खेलको आयोजना, अभ्यास कार्यमा असर परिरहेको छ । नवपुस्ताका लागि खेल मैदान अनि राष्ट्रिय स्तरका मैदानको अभाव छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि उत्तम खेलाडी उत्पादनको व्यवस्थित तयारी नै छैन । पारस खड्का, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल अनि उदीयमान खेलाडीहरूपछि को त ? उपल्लोस्तरको क्रिकेट खेल्न त्यही अनुरूपको स्तरीय तयारी र वातावरण आवश्यक देखिन्छ । 

नेपालको क्रिकेटमा देखिएका समस्याको मूल कारक ब्यवस्थापकीय पक्ष नै हो र साथै साधन र स्रोत पनि । स्वस्फूर्त उदाएका खेलाडीलाई विदेशमा मौका नजुरे पनि घरेलु मैदानमा समेत नियमित स्तरीय अभ्यास गराइएको छैन । खेलाडीले पाउँदै आएका र घोषित सीमित सेवासुविधा पनि अवरुद्ध छन् । निजी क्षेत्र खेलमा रमाउँछ तर प्रायोजक बनेर कमाउन अग्रसर देखिन्न । यो अवस्थाले नयाँ पुस्तामा खेल्ने जाँगर सिर्जना हुन्न । नेपाली व्रिmकेट टोलीको सम्पत्ति जनसमर्थन मात्र देखिन्छ, उसलाई प्रेरणा, तालिम, प्रोत्साहन र व्यावसायिक भविष्य निर्माणको अवसर खाँचो पर्दो छ । यी समस्याको समाधान गर्नु नेपाल सरकार, क्यान र औद्योगिक प्रतिष्ठानको जिम्मेवारी हो ।