• २२ वैशाख २०८१, शनिबार

चार वर्ष बित्यो, अझै बनेन आवास

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, भदौ २० गते ।  सङ्घीय सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न २०७६ सालमा मोरङको सुनवर्षी–८, कुरेलीमा निर्माण सुरु गरेका २० वटा घर अझै बनिसकेका छैनन् ।  घर नबनेपछि पक्की घरमा बस्ने सपना देखेका अति विपन्न ऋषिदेव परिवार यतिबेला घरको न घाटको भएका छन् । पक्की घर बन्छ र उतै सरौला भन्ने लोभले भएको छाप्रो भत्काइयो तर चार वर्ष बित्न लाग्यो घर बनेका छैनन् । न उहाँहरूको राजनीतिक पहुँच छ, न आफैँ निर्माण सम्पन्न गरेर घरमा सर्ने आर्थिक हैसियत छ । पक्की घरमा बस्न पाइने भएपछि उहाँहरूले प्रतिपरिवार पाँच/पाँच हजार रुपियाँ पनि तिर्नुभयो । ६८ वर्षीय जन्तीदेवी ऋषिदेवले भन्नुभयो, “घामपानी छल्ने घर भत्कायौँ, अहिले सडकको बास भयो ।” छ/सात पुस्तादेखि साबिकको डाइनिया–४, कुरेलीमा बस्दै आएका ऋषिदेव समुदायसँग आफ्नो निजी जग्गा छैन । अर्काको जग्गा अधिया, ठेक्का गरेर जीविकोपार्जन गर्दै आएका ५५ परिवारलाई सहरी विकास मन्त्रालयले जनता आवास कार्यव्रmम अन्तर्गत सुरक्षित घरमा सार्न २०७६ मा घर निर्माण सुरु गरेको हो । जसमध्ये ३५ परिवार सुरक्षित घरमा सरिसकेका छन् । 

४१ वर्षीय तुरन्तीलाल ऋषिदेवले ठेकेदारका कारण समयमा घर बन्न नसकेको बताउनुभयो । “पूर्व टोलका घर । जो बस्ने हो, उसैले बनाए । हामीले ठेकदारमार्फत बनाउने भयौँ । ठेकेदार र कर्मचारीको कुरा नमिल्दा घर बन्न सकेका छैनन्,” स्थानीय अगुवा कैलु ऋषिदेवले भन्नुभयो, “ठेकेदारमार्फत घर बनाउँदा छिटो हुन्छ भनेपछि हामी सबैले कैलुको विश्वास ग¥यौँ । अहिले कैलु र ठेकेदारबिचको विवादले घर बनेन ।” 

घर निर्माण गर्ने ठेकेदार मेहबुब आलमका अनुसार अहिले एकापसमा दोषारोपण भइरहेको छ । ३५ वटा घर बनाउने ठाउँ खाली थियो । भटाभट काम भयो । हाल निर्माण सम्पन्न नभएका घरहरू बेलाल मियाँकोे जग्गामा बनेका हुन् । बेलालले चर्चेको ऐलानी जग्गामा जनता आवासका लागि घर बन्ने भएपछि क्षतिपूर्ति मागे । तत्कालीन वडाध्यक्ष नुरुल मियाको रोेहवरमा २० परिवारले पाँच-पाँच हजार रुपियाँ बेलाललाई क्षतिपूर्ति दिन सहमति भएपछि बेलालले साइड खाली गरिदिएका हुन् । अहिले ठेकेदारले पाँच÷पाँच हजार लिएको आरोप आएको छ । 

घर निर्माणका लागि प्रतिघर तीन लाख ३२ हजार रुपियाँ विनियोजन भएको सहरी विकास कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले बताउनुभयो । उहाँका अनुसार घर सम्पन्न नभएकाले पछिल्लो किस्ता भुक्तानी रोकिएको छ । सम्झौता अनुसार २० वटा शौचालय र २० वटा ट्युबेलसहित दुई कोठे घर निर्माण गर्नुपर्ने थियो तर हालसम्म घर मात्र बनेका छन् । घरसम्म पुग्ने सडक छैन । गहिरो भागमा पैनीको किनारमा घर बनेकाले घरहरू डुबेका छन् । सडक नभएपछि बिजुली पु-याउन सकिएको छैन । 

वडा नम्बर ८ का वडाध्यक्ष अनुवार मियाँले भन्नुभयो, “घर हस्तान्तरण नहुँदा गत वर्ष ६५ वटा घरको बजेट फ्रिज भयो । चालु वर्ष पनि जनता आवासमा बजेट नआउने अवस्था छ । वडाको तर्फबाट सहरी विकास कार्यालय र ठेकेदारलाई समन्वय गर्न तयार छौँ ।”  स्थानीय कैलु ऋषिदेवले आफ्नो समुदायका मानिसलाई समन्वय नगर्दा घर निर्माणको काम अगाडि नबढेको मियाँको आरोप छ । मियाका अनुसार कैलुले २० वटा घर भएको स्थानमा पाँच बिघा जग्गा ऐलानी भएको र उक्त जग्गा ऋषिदेवहरूलाई नै भोगचलन गर्न दिनुपर्ने माग गरेका छन् । 

उक्त जग्गा बेलाल मियाँ र ताहिर मियाँ (सानो) ले भोगचलन गरिरहेका छन् । सरकारी जग्गामा सहरी विकासले घर बनाउन खोज्दासमेत प्रतिपरिवार पाँच÷पाँच हजार रुपियाँ दिएका ऋषिदेव समुदायले जग्गा भोगचलनको माग राखिरहने हो भने सुरक्षित आवासमा सर्ने सपना पानीको फोका झैँ हुने निश्चित छ ।