छविलाल पाण्डे
बुटवल, भदौ २० गते । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
मङ्गलवार राती सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी रिजालले ४७७ मत पाउनु भयो ।
त्यसै गरी अन्य पदाधिकारीहरूमा भने मिश्रित परिणाम आएको छ ।
त्यसै गरी उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाउनु भयो ।
पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसै गरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३५१ मत पाउनु भयो ।
सचिव पदमा कँडेलकै समूहका लक्ष्मण आचार्य सोमबार नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मङ्गलवार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।
यो निर्वाचनपछि लुम्बिनी प्रदेशमा स्पष्ट दुई गुट देखिएको छ । अध्यक्षमा निर्वाचित कँडेल एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट हुनुहुन्छ भने पराजित रिजाल महासचिव शंकर पोखरेल नजिक हुनुहुन्छ ।