• २३ वैशाख २०८१, आइतबार

विपन्न परिवारलाई सुरक्षित आवास अझै बनेनन्

blog

हरि काेइराला

उर्लाबारी, भदौ १९ गते । सङ्घीय सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न २०७६ सालमा मोरङको सुनवर्षी-८ कुरेलीमा निर्माण सुरु गरेका २० वटा घर अझै बनेका छैनन्। 

घर नबनेपछि पक्की घरमा बस्ने सपना देखेका अति विपन्न ऋषिदेव परिवार यतिबेला समस्यामा परेका छन् । पक्की घर बन्छ र उतै सरौला भन्ने लोभले भएको छाप्रो भत्काइयो तर ४ वर्ष बित्न लाग्यो घर बनेन । न उनीहरूको राजनीतिक पहुँच छ, न आफैं निर्माण सम्पन्न गरेर घरमा सर्न सक्छन् । पक्की घरमा बस्न पाइने भएपछि उनीहरुले प्रति परिवार ५-५ हजार रुपियाँ पनि तिरे। ६८ वर्षीया जन्तीदेवी ऋषिदेवले भन्नुभयो, “घामपानी छल्ने घर भत्कायौं, अहिले सडकको बास भयो । ६-७ पुस्ता अघिदेखि साविकको डाइनिया-४ कुरेलीमा बस्दै आएका ऋषिदेवहरूसँग आफ्नो नीजि जग्गा छैन ।” अर्काको जग्गा अधिया, ठेक्का गरेर जीविकोपार्जन गर्दै आएका ५५ परिवारलाई सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत सुरक्षित घरमा सार्न २०७६ मा घर निर्माण सुरु गरेको हो । जसमध्ये ३५ परिवार सुरक्षित घरमा सरिसकेका छन् । 

४१ वर्षीय तुरन्तीलाल ऋषिदेवले ठेकदारका कारण समयमा घर बन्न नसकेको बताउनुभयो । “पूर्व टोलका घर । जो बस्ने हो उसैले बनाए । हामीले ठेकदारमार्फत बनाउने भयौं। ठेकदार र कर्मचारीको कुरा नमिल्दा घर बन्न सकेका छैनन् । स्थानीय अगुवा कैलु ऋषिदेवले ठेकदारमार्फत घर बनाउँदा छिटो हुन्छ भनेपछि हामी सबैले कैलुको विश्वास गर्यौं । अहिले कैलु र ठेकदार बीचको विवादले घर बनेनन्”, सम्पतलाल ऋषिदेवले भन्नुभयो । 

घर निर्माण गर्ने ठेकदार मेहवुब आलम भन्नुहुन्छ, “अहिले एकापसमा दोषारोपण भइरहेको छ । ३५ वटा घर बनाउने ठाउँ खाली थियो । भटाभट काम भयो । हाल निर्माण सम्पन्न नभएका घरहरू बेलाल मियाकोे जग्गामा बनेको हो ।” बेलालले चर्चेको ऐलानी जग्गामा जनता आवासका लागि घर बन्ने भएपछि उनले क्षतिपूर्ति मागे । तत्कालीन वडाध्यक्ष नुरुल मियाको रोेहवरमा २० परिवारले ५-५ हजार रुपियाँ बेलाललाई क्षतिपूर्ति दिन सहमति भएपछि बेलालले साइड खाली गरिदिएका हुन् । अहिले ठेकदारले ५-५ हजार लिएको आरोप आएको छ । 

घर निर्माणका लागि प्रति घर तीन लाख ३२ हजार ५ रुपियाँ विनियोजन भएको सहरी विकास कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले बताउनुभयो । मिश्रका अनुसार घर सम्पन्न नभएकोले पछिल्लो किस्ता भुक्तानी रोकिएको छ । सम्झौता अनुसार २० वटा शौचालय र २० वटा ट्युववेल सहित २ कोठे कोठे घर निर्माण गर्नुपर्ने थियो । तर, हालसम्म घर मात्र बनेका छन् । घरसम्म पुग्ने सडक छैन । गहिरो भागमा पैनीको किनारमा घर बनेकोले घरहरू डुबेका छन् । सडक नभएपछि बिजुली पुर्‍याउन सकिएको छैन । 

वडा नम्बर ८ का वडाध्यक्ष अनुवार मियाले भन्नुभयो, “घर हस्तान्तरण नहुँदा गत वर्ष ६५ वटा घरको बजेट फ्रिज भयो । चालु वर्ष पनि जनता आवासमा बजेट नआउने अवस्था छ । वडाको तर्फबाट सहरी विकास कार्यालय र ठेदारलाई समन्वय गर्न तयार छौं । तर,स्थानीय कैलु ऋषिदेवले आफ्नो समूदायका मानिसलाई समन्वय नगर्दा घर निर्माणको काम अघि नबढेको मियाको आरोप छ । मियाका अनुसार कैलुले २० वटा घर भएको स्थानमा ५ विघा जग्गा ऐलानी भएको र उक्त जग्गा ऋषिदेवहरूलाई नै भोगचलन गर्न दिनुपर्ने माग गरेका छन् । 

उक्त जग्गा बेलाल मिया र ताहिर मिया(सानो)ले भोगचलन गरिरहनुभएको छ । सरकारी जग्गामा सहरी विकासले घर बनाउन खोज्दासमेत प्रति परिवार ५-५ हजार रुपियाँ दिएका ऋषिदेवहरूले जग्गा भोगचलनको माग राखिरहने हो भने उनीहरूको सुरक्षित आवासमा सर्ने सपना पानीको फोका झैं हुने निश्चित छ ।