तानसेन समाचारदाता
पाल्पा, भदौ १९ गते । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा ऐतिहासिक भगवती माताको रथ यात्रा गर्ने तयारी गरिएको छ । नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा भगवतीको रथयात्रा गर्ने परम्परा छ ।
तत्कालीन तैनाथ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अङ्ग्रेज फौजलाई जितगढी किल्लामा विजय हासिल गरेको थियो । सोही बेलादेखि पाल्पाको तानसेनमा रहेको भगवती माताको रथयात्रा गराउने प्रचलन सुरु भएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले दुई सय वर्षअघिदेखि भगवतीको रथयात्रा गर्ने प्रचलन कायम राख्दै यो वर्ष आगामी भदौ २१ गते रथयात्रा गर्ने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमा फैलाउन सहयोग गर्ने छ भने नेपाली सेनाले विजय हासिल गरेको दिनको विशेष सम्झना दिलाउँछ ।”
भगवती जात्रा (रथयात्रा) का लागि आवश्यक सबै तयारी पूरा भएको समितिले जनाएको छ । यो वर्ष २०३ औँ पटक रथयात्रा गर्ने समितिको भनाइ छ ।
नेपाल–अङ्ग्रेज युद्धका बेला कर्णेल उजिरसिंह थापाले भगवती मातासँग युद्ध जितेर फर्किएपछि भगवतीको महिमा फैलाउने भाकल गर्नुभएको थियो । सोही बेलादेखि भगवतीको रथ बजार परिव्रmमा गराउने प्रचलन सुरु भएको मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष केदारलाल श्रेष्ठले बताउनुभयो ।
समितिका सचिव प्रकाशनाथ गङ्गोलले भगवती जात्राका लागि तानसेन नगरपालिकाले नगरको सडक मर्मतसुधार गरिरहेको छ । यस्तै भगवती मन्दिर शृङ्गार, रङरोगन तथा सरसफाइको काम भइरहेको बताउनुभयो । विभिन्न स्थानबाट तानसेन आउने दर्शनार्थीका लागि यातायात सेवामा सुविधा दिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जात्राका लागि सात लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । भगवती जात्रामा स्वदेश, विदेश तथा स्थानीयवासी गरी हजारौँ भक्तजनको भव्य सहभागिता रहन्छ । यसलाई नेपालले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा गरिने विजय उत्सवका रूपमा समेत लिने गरिन्छ ।