• १२ असार २०८१, बुधबार

अख्तियारी नआउँदा कार्यक्रम प्रभावित

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, भदौ १९ गते । समयमै कार्यक्रम, बजेट र अख्तियारी नआउँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (सुपर जोन) सिन्धुलीका कर्मचारी कार्यालय कुरेर दिन बिताउन बाध्य छन् । 

साउन १ गते नै आउनुपर्ने कार्यक्रम, बजेट र अख्तियारी भदौको तेस्रो साता बित्न लाग्दासमेत नआउँदा कर्मचारी कामविहीन बनेका हुन् । यसले गर्दा चालु आर्थिक वर्षको बर्सात्को मौसममै गर्नुपर्ने जुनारको बगैँचा स्थापना कार्यक्रम, रोग, किरा नियन्त्रण कार्यक्रम र अदुवाको गानो कुहिने रोग नियन्त्रण कार्यक्रम प्रभावित भएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार जिल्लाका विभिन्न ठाउँमा जोन कार्यक्रम अन्तर्गत जुनार, अदुवा तथा बेसार खेती हुँदै आएको छ । 

परियोजना प्रमुख रमेश हुमागाईंले कार्यक्रम, बजेट र अख्तियारी नआउँदा वर्षाको सिजनमा गर्नुपर्ने तीन वटै कार्यक्रम रोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषिको कार्यक्रम अरू भौतिक संरचना बनाए जस्तो एक/दुई महिनापछि गरौँला नि त भनेर हुँदैन । सिजनल कार्यक्रम हुन्छ । यो मौसममा गर्नुपर्ने कार्यक्रम यही बेला नै गर्नु पर्छ ।”

परियोजनाका अनुसार पानी परिरहेको अहिलेको समय जुनारका बिरुवा रोपेर बगैँचा स्थापना गर्ने बेला हो । यो वर्ष २० हजार जुनारका बिरुवा रोप्ने योजना थियो । त्यस्तै जुनारको फलमा प्रकोपका रूपमा देखिएको ध्वाँसे रोग तथा विभिन्ने औँसा किरा नियन्त्रण कार्यक्रम रोकिएको छ ।

परियोजना प्रमुख हुमागाईंले भन्नुभयो, “सुडे, पुतली तथा पतेरोले फल झार्छ । झरेको फललाई व्यवस्थापन गर्न सबै बगैँचा धनीलाई विशेष खालको प्लास्टिकको झोला वितरण गर्ने र त्यसलाई अनुगमन गर्ने गरेका थियौँ । यो वर्ष जुनारको बगैँचा स्थापना गर्न नपाएपछि अब अर्को असार साउन नै कुर्नु प-यो । तत्काल गर्नुपर्ने सबै काम प्रभावित भएको छ ।”

उहाँका अनुसार अहिले जिल्लामा अदुवामा गानो कुहिने र जुनार, सुन्तलामा ध्वाँसे रोगको प्रकोप बढेको छ । उक्त रोग नियन्त्रण अहिले वर्षा सिजनमै गर्नुपथ्र्याे; असोज, कात्तिकमा गरौँला भनेर नहुने प्राविधिक बताउँछन् । हाल परियोजनमा कार्यरत १३ कर्मचारीमध्ये १० जना करारका रहेको र कार्यक्रम र बजेट नआउँदा उनीहरूलाई काममा फिल्डमा समेत खटाउन नपाएको उहाँको गुनासो छ । 

“यो समय रोग, किरा नियन्त्रणका लागि कर्मचारीलाई बेस्सरी फिल्डमा खटाउने बेला हो । पछि कार्यक्रम र बजेट आउँदा कतिको जागिर रहने हो, कतिको नरहने हो । अन्योलको अवस्था छ,” उहाँले भन्नुभयो । परियोजनाका अनुसार जिल्लामा दुई हजार २९६ जुनार नर्सरी धनी किसान र अदुवा जोन अन्तर्गत गठन भएका १२ वटा सहकारी संस्थामा ३५० घर किसान आबद्ध छन् । जुनारको बगैँचा स्थापना रोकिँदा किसानको नर्सरीमा रहेका बिरुवासमेत बिक्री हुन पाएको छैन । जुनारको १० वटा नर्सरीमा रोप्नयोग्य एक लाख बिरुवा छन् ।

गोलन्जोर गाउँपालिका–५ का जुनारको नर्सरीधनी चूडाराज सापकोटाले आफ्नो नर्सरीमा अढाई वर्षका सात हजार जुनारका बिरुवा रहेका र तीमध्ये यो वर्ष करिब छ सय बिरुवा मात्रै बिक्री भएको गुनासो गर्नुभयो । परियोजना अन्तर्गत जुनार खेती गोलन्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकाका विभिन्न वडामा हुँदै आएको छ । त्यस्तै अदुवा तथा बेसार खेती कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा हुँदै आएको परियोजनाले जनाएको छ ।