• २२ वैशाख २०८१, शनिबार

समयमै गौरवका आयोजना सम्पन्न

blog

लीलाराज खड्का 

बिर्तामोड, भदौ १९ गते । प्रदेशको गौरव आयोजनाका रूपमा हेरिएको सुरुङ्गा झापा अमरपथ सडकखण्ड अन्तर्गतको सुरुङ्गा चप्रामारी सडकखण्ड निर्धारित समय सीमाभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । 

कनकाई  नगरपालिका र झापा गाउँपालिकामा रहेको यस सडकखण्डको कनकाई आशिष जेभीले भ्याटसहित ४७ करोड एक लाख २२ हजार ५४९ रुपियाँमा कनकाईतर्फको ठेक्का पाएको थियो । २०७६ साल भदौ १६ गते भएको ठेक्का सम्झौतामा २०८० साल भदौ १५ गते कार्यसम्पन्न गरिसक्नुपर्ने उल्लेख थियो तर सो समयभन्दा अघि नै काम सम्पन्न भएको कनकाई इन्टरनेसनल बिल्डर्स प्रालिका सञ्चालक रामप्रसाद मैनालीले बताउनुभयो । 

दुई खण्डमध्ये बाँकी झापा गाउँपालिकाको सडक भने मैनाचुली निर्माण कम्पनीले पाएको थियो तर सोतर्फको काम हुन बाँकी छ । यसतर्फको काम अन्तिम अवस्थामा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । “हामीले कनकाई नगरपालिकाको काम सम्पन्न गरिसकेका छौँ, काम सकाएर रकम अन्तिम किस्ताबाहेक सबै भुक्तानी गरिसकेका छौँ, अब चाँडै अन्तिम किस्ता भुक्तानी हुने छ,” उहाँले भन्नुभयो । 

सुरुङ्गा चप्रामारी क्षेत्रको आठ किलोमिटर सडकखण्ड कनकाई नगरपालिका वडा नम्बर ३ र ५ मा पर्छ । सडक निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दालाई आवागमनमा सहज भएको छ । स्थानीयवासीले आफ्नो घरअगाडिको क्षेत्रमा फूलबारी लगाउने र गोलमेल गर्ने पानी हाल्ने काम गर्दै आएका छन् । यसका लागि कनकाई नगरपालिकाले सहजीकरण गर्दै आएको छ । 

देशको गौरवको आयोजना भएकाले कोरोना कहरबिच सुरक्षा मापदण्ड अपनाएर महìवाकाङ्क्षी कामलाई सम्पन्न गरिएको कम्पनीका इन्जिनियर विदुर मैनालीले बताउनुभयो । निर्माण कम्पनी सबै समयमा काम सक्दैनन् भनेर सरकार र जनताबाट आरोप खेपिरहेको बेलामा समयमै काम गर्न सफल बनेको कम्पनीका व्यवस्थापक लीला सेलुवालले बताउनुभयो ।  

कनकाई नगरपालिकाको सुरुङ्गादेखि झापा गाउँपालिकाको लसुनासम्मको २४ किलोमिटर क्षेत्रको यस सडकखण्ड निर्माण सम्पन्न हुँदा सीमावर्ती विहारको डिघल बैङ्क नाकासम्म नेपालीको पहुँच सहज हुने छ । नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके सबैभन्दा छोटो दुरीमा नेपालले बन्दरगाहबाट सामानहरू नेपाल भिœयाउन सकिने नेपाल–भारत मैत्री सङ्घ कनकाईका अध्यक्ष अर्जुन बोहोराले बताउनुभयो ।