• १८ वैशाख २०८१, मङ्गलबार

वर्षमा २७ सय घरमा खानेपानी धारा जडान

blog

पुतलीबजार नगरपालिका १३ हिरापाटमा निर्माण गरिएको ट्याङकी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, भदौ १८ गते । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७९–८० मा दुई हजार ६७० वटा धारा निर्माण गरेको छ । एक घर एक धारा बनाउने सरकारको नीतिअनुसार यहाँ १३ हजार २७७ जना नागरिकलाई खानेपानीको सुविधा पुगेको हो ।  

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सङ्घीय सशर्त अन्तर्गत पाँच र प्रदेश कार्यालयले २४ वटा गरी २९ योजनामार्फत दुई हजार ६०१ घर तथा विद्यालय, मन्दिर, पौवामा ६९ वटा धारा निर्माण गरेको छ । 

खानेपानी कार्यालयका प्रमुख हरि तिमिल्सिनाले ११ वटा लिफ्टिङ र १८ वटा ग्राभिटी योजनामार्फत घर–घरमा खानेपानी धारा लगेको बताउनुभयो । एक घर एक धाराका लागि आठ करोड ६० लाख ३९ हजार सङ्घीय सशर्त, ७२ लाख ७७ हजार विशेष अनुदान र २३ करोड ६६ लाख ३१ हजार प्रादेशिक खानेपानी गरी कुल ३२ करोड ९९ लाख ४७ हजार रुपियाँ बराबरको आर्थिक प्रगति गरेको तिमिल्सिना बताउनुभयो । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा विनियोजित बजेटमा ९८.५ प्रतिशत प्रगति हो । प्रदेश सरकारको एक घर एक धारा नीति पश्चात् वर्षोँदेखि खानेपानीको समस्या भोग्दै आएका नागरिकलाई सहज भएको हो । 

खानेपानी कार्यालयमा हाल १३१ योजना निर्माणाधीन रहेका छन् । २०८०–८१ मा थप १५० नयाँ योजना थप भएका छन् । यहाँ सङ्घीय खानेपानी पोखरा र पालिकाबाट समेत एक हजारभन्दा धारा लगिएको छ ।