• २६ पुस २०८१, शुक्रबार

मधेस प्रदेश सभा सदस्य सिंह पक्राउ

blog

मधेस प्रदेश सांसद अनिरुद्ध सिंह यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीको मुद्दा फाँटमा सोधपुछ गरिदै । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), भदौ १८ गते । कर्तव्य ज्यान मुद्दाका दोषी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा मधेश प्रदेश सप्तरी क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव गोविन्द चौधरीको हत्या अभियोगमा अदालतबाट दोषी ठहर हुनुभएको थियो ।  

सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीका अनुसार फैसलाको सम्पूर्ण अभिलेख सर्वोच्चले यसै साता जिल्ला प्रहरी कार्यालयलाई पठाउने बित्तिकै सदस्य सिंहलाई सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ । 

चार वर्ष जेल सजाय तोकिएका सिंह प्रदेश सभामा तीनै तहको अदालतबाट दोषी ठहर गर्दै चार वर्षको जेल सजाय तोकिसकिएको व्यक्ति मधेश प्रदेश सभामा प्रदेश सांसदको रूपमा रहँदै आउनुभएको थियो ।  

स्वतन्त्र सांसदका रूपमा निर्वाचित उहाँ २०७१ सालमै दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ । उहाँलाई सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते अभिरुद्रसहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको थियो । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको २०७५ भदौ ९ गतेको संयुक्त इजलासले उहाँको हकमा जिल्लाको फैसलालाई नै सदर गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ संयुक्त इजलासले २०७८ पुस १३ गते यसअघि जिल्ला तथा उच्च अदालतले गरेको  निर्णयलाई नै सदर गर्ने आदेश दिएको देखिन्छ । आरोपित यादवको निर्देशनमा साबिकको बोदे बर्साइन गाविस –४ बाट वि.स. २०६४ असार ९ गते सप्तरी खोक्सरप्रवाह –१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रत्रणमा लिई नेङ्गडा गाविस –५ वैरिया टोलमा पुगाई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ । 

मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ । उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा बयान दिनसमेत नआई फरार हुनुभएको थियो । 

अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको छैन । मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिनुभएको थियो । 

फैसलामा के छ ?

सप्तरी जिल्ला अदालतले अनिरुद्ध सिंह यादवसहितको विरुद्ध २०७१–१२–११ गतेको फैसलामा भनिएको छ, “प्रतिवादीउपरको मुलुकी ऐनको दफा १३ (४) को अभियोग दाबी पुग्न सक्दैन । प्रतिवादीको कसुर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (२) बमोजिम मृतकलाई घेरा हाल्ने र मार्न संयोग परिदिनेसम्मको कसुरमा संग्लन भएको देखिन आउँछ । 

यसरी प्रतिवादीको कसुर १७ (२) नम्बरसम्मको देखिदा सोही नम्बर बमोजिम मृतकलाई घेरा हाल्ने र मार्नको निमित्त संयोग परिदिनेसम्मको कसुरमा कसुरको मात्राका अधारमा यी प्रतिवादीलाई ४ वर्ष कैद हुन्छ । यस्तै, प्रतिदाबीमध्येका ताराकान्त यादवले गरेको पुनरावेदनमा उच्च अदालत राजविराज इजलासले २०७५ भदौ ९ गरेको फैसलाअनुसार रुकमिनि चौधरीले गरेको बकपत्र र जाहेरवालाको बकपत्र समेतबाट प्रतिवादी ताराकान्त यादव अरू किसिमको मुलतबी भएको पुष्टि भएको देखिएको हुँदा प्रतिवादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७ (२) अनुसार ४ वर्ष कैद हुने ठहराएको सुरु सप्तरी जिल्ला अदालतको मिति २०७१–१२–११ को फैसला हदसम्म मिलेको नदेखिँदा केही उल्टीभई प्रतिवादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७ (३) अनुसार निज प्रतिवादीको कसुरको मात्राको आधारमा २ वर्ष कैद हुने र अरूको हकमा जिल्ला अदालतको फैसला मिलेको देखिदा सदर हुने ठहर छ । 

कानुनको पालना र वर्षौँदेखि अन्याय अत्याचार व्याप्त समाजमा न्याय स्थापनाका निम्ति प्रदेश सभा सदस्य सिंहलाई प्रहरीले तत्काल पक्राउ गर्न स्थानीहरूको माग रहँदैआएको थियो ।