• ३० वैशाख २०८२, मङ्गलबार

नेपालगन्जमा मोटरसाइकल दमकल सेवा सुरु

blog

मोटरसाइकल दमकल सेवा सुरु गर्दै नेपालगन्जका मेयर विष्ट । तस्विर : सिराज खान ।

सिराज खान

नेपालगन्ज, भदौ १७ गते । नेपालगन्जमा दमकल मोटरसाइकल सेवा सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले काठमाडौँ उपत्यका बाहिर पहिलो पटक दमकल मोटरसाइकल सेवा यहाँ सुरु गरिएको हो । 

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले नेपालगन्जका अधिकांश पुराना बजार र बस्तीहरू घना र साँघुरा भएकाले धेरै ठाउँमा ठुलो दमकल पस्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै आगलागी नियन्त्रणका लागि मोटरसाइकल दमकल सेवा सुरु गरिएको बताउनुभयो । उहाँले नेपालगन्जको वडा नम्बर ३, ४, ५, ७ र ११ तथा अन्य केही ठाउँमा निकै साँघुरा गल्लीहरूमा ठुलो जनसङ्ख्याको बसोबास रहेकोले ती स्थानमा आगलागी हुँदा मोटरसाइकल दमकलले सेवा दिने बताउनुभयो । 

गर्मीको मौसममा विद्युत सर्ट हुनुका साथै अन्य विभिन्न कारणले हरेक वर्ष नेपालगन्जमा आगलागीका धेरै घट्ना हुने भएकोले उपमहानगरले सो नियन्त्रण गर्न विभिन्न प्रकारका योजनाहरू तयार पारेको छ । आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले नगरवासीलाई आगलागीबाट जोगाउन विशेष तालिम दिएर अग्नि नियन्त्रकहरू उत्पादन गर्ने काम भइरहेको छ भने जोखिम बढी भएका क्षेत्रको पहिचान गरेर सर्वसाधारणलाई समेत सचेत गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । 

सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले नेपालगन्जलाई भूकम्प, आगलागी, बाढी र अन्य विपद्बाट जोगाउन विशेष परियोजना नै सञ्चालन गरेर ४०० बढी उद्धारकर्ता समेत तयार पार्ने कार्य पनि चलिरहेको बताउनुभयो । उहाँले दमकल मोटरसाइकल सेवा सुरु गरिएपछि वारुण यन्त्र जान नसक्ने क्षेत्रमा तत्कालै आगलागी नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । 

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले सहरका साँघुरा गल्लीहरूमा आगलागी नियन्त्रण गर्न दमकल मोटरसाइकल सेवा निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगलागी भएपछि वारुणयन्त्र पुग्न निकै ढिलो हुने गरेको जनगुनासो पटक पटक सुनिने गरिएकोले सोतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । 

आगलागी नियन्त्रणका लागि नेपालगन्जको पानीको व्यवस्था गर्न समस्या हुँदै आएकोले सहरका धेरै चोक र ठाउँहरूमा वारुणयन्त्रले आवश्यक परेको बेला पानी भर्न पाउने गरी व्यवस्था मिलाइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका अनुसार यसअघि आगलागीबाट जोगिन नेपालगन्ज नगरका विद्युतकर्मीहरुलाई तालिम दिएर विद्युत बाइरिँग गर्दा आगलागी नहुने गरी विद्युत लाइन जडान गर्न सिकाइएको थियो ।