• ४ पुस २०८१, बिहिबार

विपद् प्रभावित परिवारलाई निजी आवास बनाउन अनुदान

blog

गत साउन महिनामा पाल्पाको कचलमा बाढीले क्षति पुर्‍याएकाे बस्ती । तस्विर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ १७ गते । विपद्का घटनाबाट क्षति बेहोरेका परिवारले निजी आवास निर्माण गर्न अनुदान पाउने भएका छन् । जिल्लाका विभिन्न स्थानमा विपद्जन्य घटना बाढी, पहिरो, आगलागीबाट क्षति पुगेका ५७ घरपरिवारले निजी आवास निर्माण गर्न चार लाख अनुदान पाउने भएका हुन् । 

जिल्लाको निस्दी गाउँपालिका-३, का १९ घरपरिवारले निजी आवास निर्माण गर्न निवेदन दिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो । विगत दुई वर्षअघि र यो वर्ष पहिरोले क्षति पुर्‍याएका १९ परिवारको निजी आवास निर्माणका लागि चार लाख अनुदान पाउने उहाँले जानकारी दिनुभयो । यस्तै, तानसेन नगरपालिकाका २५, रामपुर नगरपालिकाका छ, रिव्दीकोट गाउँपालिकाका तीन र बगनासकाली गाउँपालिकाका चार परिवारलाई पनि निजी आवास निर्माण गर्न अनुदान पाउने प्रशासनले जनाएको छ । 

विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि-२०७८ अनुसार पीडित परिवारको विवरण अनलाइन इन्ट्री गरिएको प्रशासनले जनाएको छ । उक्त कार्यविधि अनुसार चार किस्तामा विपदबाट पीडित परिवारले चार लाख रुपियाँ अनुदान पाउने प्रशासनका प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट १०, नगरपालिकाबाट १५, प्रदेशबाट ३० प्रतिशत र सङ्घीय सरकारबाट बाँकी रकम बेहोर्ने कार्यविधिमा उल्लेख छ । प्रदेश सरकारले दिने अनुदान रकम प्राप्त भइसकेको र अब अन्य निकायबाट रकम प्राप्त हुनासाथ लाभग्राहीसँग सम्झौता गरेर निजी आवास निर्माणको काम अगाडि बढाउने श्रेष्ठले जानकारी दिनुभयो ।

विपदबाट बसाइँ सर्नुपर्ने, घरबारविहीन हुने परिवारका लागि चार लाख रुपियाँ अनुदानले ठुलो राहत पुग्ने स्थानीय तहले बताएका छन् । यसअघि अनलाइनमा इन्ट्री नहुँदा पाल्पाका विपद् प्रभावित परिवारले निजी आवासका लागि अनुदान पाउन सकेका थिएनन् । विपद् प्रभावित परिवारले निजी आवास बनाउन चाहेमा निवेदन दिएपछि राहत रकम पाउने तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । 

आवास निर्माणको अनुदान रकमबाट विपदबाट विस्थापित हुने परिवारलाई ठुलो राहत पुग्ने र उनीहरू सुरक्षित रुपमा पुनःस्थापित हुने उहाँले बताउनुभयो । यो वर्ष विपद्का घटनाबाट घरमा क्षति पुगेर विस्थापित भएका माथागढी, पूर्वखोला, रम्भा, तिनाउ, रैनादेवी छहरा गाउँपालिकाका पीडित परिवारको भने अनलाइनमा विवरण इन्ट्री गर्ने कार्य भइरहेको छ ।