• १७ असार २०८१, सोमबार

काँचुली फेर्दै सिन्धुली अस्पताल

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ १७ गते । सिन्धुली जिल्लाकै सबभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पतालले काँचुली फेर्दै गएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पताल यतिखेर आफूलाई सुधार्ने र स्वरूप फेर्ने क्रममा लागेको छ । पहिले सीमित चिकित्सकबाट उपचार सेवा दिँदै आएकोमा ५० श-या क्षमताको यो अस्पतालमा अहिले ११ विशेषज्ञसहित २१ जना चिकित्सक कार्यरत रहेको अस्पतालले जनाएको छ । 

अस्पतालमा हाल तीन जना सर्जन, दुई जना गाइनो, दुई जना एमडी-जिपी, मेडिसिन एक जना, बालरोग एक जना र अर्थोपेडिक दुई जना गरी ११ जना विशेषज्ञसहित २१ जना चिकित्सक कार्यरत छन् । अहिले गाइनो, एपेन्डिसाइटिस, हड्डी, हर्निया, हाइड्रोसिलको श्लयक्रिया हुँदै आएको अस्पताल विकास समितिले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष सतीश ढकालले बागमती प्रदेश सरकारले उक्त अस्पतालको क्षमता विस्तार गरी एक सय श-या बनाउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खोप दिवसको अवसरमा मुख्यमन्त्रीले भाषण गर्दा प्रदेशभरिमा चार वटा अस्पताललाई एक सय श-याको बनाउने र त्यो सिन्धुलीबाट सुरु गर्ने भन्नुभएको छ तर अहिलेसम्म कागजपत्र आइसकेको छैन ।” उहाँका अनुसार उक्त अस्पतालमा दैनिक ३५० भन्दा बढी ओपिडी र आकस्मिक सेवाका बिरामी आउने गरेका छन् । 

चिकित्सकसहित जनशक्ति थपिँदै गए पनि अहिले पनि पर्याप्त जनशक्ति नरहेको सो अस्पतालले जनाएको छ । छाला र मनोचिकित्सकको विशेषज्ञ दरबन्दी भएर पनि चिकित्सक छैनन् । नाक, कान र घाँटीका बिरामी धेरै आए पनि दरबन्दीको अभावमा चिकित्सक छैनन् । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण भई यातायात सञ्चालन भएकाले सिन्धुली अस्पताललाई कम्तीमा पनि एक सय श-याको बनाउन सम्बन्धित निकायले सोच्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् ।

जीर्ण पुरानो भवन भत्काई चार वटा ब्लकमा  अपाङ्गमैत्री (लिफ्टसहित) सुविधा सम्पन्न आधुनिक अढाइ तले भवन निर्माण अन्तिम चरणमा पुगेको छ । २०७७ माघदेखि निर्माण सुरु भएको उक्त भवनको निर्माण कार्य अहिलेसम्म ९२ प्रतिशत सम्पन्न भएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अनुसार उक्त भवन सङ्घीय सरकारको सहयोमा २१ करोड ९८ लाख रुपियाँमा निर्माण गर्न ठेकेदार कम्पनीले २०७६ साल चैत ७ गते सम्झौता गरी भवन निर्माण सुरु गरेको हो । सम्झौतामा ३० महिनाभित्र निर्माण पूरा गर्नुपर्ने उल्लेख छ । 

लेखक बाट थप