• ६ जेठ २०८१, आइतबार

छोरी बुहारीलाई पढाउन छात्रवृत्ति

blog

ललित बसेल

सुर्खेत, भदौ १७ गते । कर्णाली प्रदेशमा छोरी बुहारीलाई कोटाभन्दा बढी छात्रवृत्ति दिएको छ । आर्थिक अभावले पढाइ बिचमै छोड्ने छोरी बुहारीका लागि ‘छोरी बुहारी छात्रवृत्ति’ कोटा बढाउन सुरु गरेको हो ।

सो कार्यक्रमका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७७/७८ सम्म ३४० जनाको कोटा छुट्याएकोमा ४०१ जना सो छात्रवृत्ति पाउन सफल भएका छन् । ३४० कोटाका लागि प्रदेश सरकारले तीन करोड ९० लाख बजेटबाट ४०१ जनालाई तीन करोड ७७ हजार रुपियाँ छात्रवृत्ति वितरण गरेको छ ।

कर्णाली प्रदेश सभा सामाजिक विकास समितिको आयोजनामा संसद् सहयोग परियोजनाको सहकार्य र कर्णाली फाउन्डेसनको समन्वयमा सुर्खेतमा आयोजित कार्यव्रmममा यस्तो जानकारी दिएको हो । सो अवसरमा ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रममाथि सरोकारवालासँगको छलफल (संसदीय निगरानी) कार्यक्रममा निर्धारित कोटाभन्दा बढीले छात्रवृत्ति रकम प्राप्त गरी आफ्नो अध्ययनलाई निरन्तरता दिएको जानकारी दिइएको हो । 

सुर्खेत बहुमुखी क्याम्पसका उपप्राध्यापक युवतकुमार ओलीले छात्रवृत्ति वितरण बारे प्रस्ट्याउँदै आव २०७५/७६ मा एक सय जनाको कोटामा १५० जनालाई एक करोड ३२ लाख ८९ हजार रुपियाँ, २०७६/७७ मा एक सय जनाको कोटामा ११० जनालाई ७६ लाख १६ हजार आठ सय रुपियाँ र २०७७/७८ मा १४० जनाको कोटामा १४१ जनालाई एक करोड ३० लाख ७१ हजार रुपियाँ सरकारले छात्रवृत्तिका लागि वितरण गरिएको जानकारी दिनुभयो । 

कार्यव्रmममा उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आव २०७५/७६ मा रुकुमपश्चिमबाट दुई जना, सल्यानबाट १४ जना, जाजरकोटबाट आठ जना, सुर्खेतबाट २९ जना, दैलेखबाट २५ जना, डोल्पाबाट २१ जना, कालीकोटबाट आठ जना, जुम्लाबाट १८ जना, मुगुबाट एक र हुम्लाबाट २४ जनाले छोरी बुहारी छात्तवृत्ति रकम प्राप्त गरेको उल्लेख छ । यस्तै २०७६/७७ मा रुकुम पश्चिमबाट १० जना, सल्यानबाट १० जना, जाजरकोटबाट १० जना, सुर्खेतबाट १० जना, दैलेखबाट ११ जना, डोल्पाबाट १२ जना, कालीकोटबाट १४ जना, जुम्लाबाट १२ जना, मुगुबाट ११ र हुम्लाबाट १० जनाले छात्रवृत्ति पाएका छन् । 

२०७७/७८ मा रुकुमपश्चिमबाट १० जना, सल्यानबाट ११ जना, जाजरकोटबाट १० जना, सुर्खेतबाट ४० जना, दैलेखबाट १० जना, डोल्पाबाट ११ जना, कालीकोटबाट ११ जना, जुम्लाबाट १० जना, मुगुबाट १८ र हुम्लाबाट १० जनाले पाएका छन् । हालसम्म कर्णालीका १० जिल्लाबाट ४०१ जना छोरी बुहारीले छात्रवृत्ति प्राप्त गरेको अध्ययनकर्ता एवं उपप्राध्यापक ओलीले जानकारी दिनुभयो । छात्रवृत्ति प्राप्त गरी अध्ययन पूरा गरेका छात्राहरूले रकमको उचित सदुपयोग तथा उपलब्धि र रोजगारीको अवस्था अनुगमन नभएको देखिएको बताउनुभयो ।

सो छात्रवृत्तिबाट रकम लिएर अध्ययन पूरा गरी अहिले सुर्खेतको सिम्ता गाउँपालिकामा कार्यरत कालीकोटकी जया बोगटीले छोरी बुहारी छात्रवृत्ति कार्यक्रम  अध्ययन बिचमै छोडेका छोरी बुहारीका लागि प्रेरणादायी भएको बताउनुभयो । कर्णाली सरकारले दिएको छोरी बुहारी छात्रवृत्ति कार्यक्रमले आफ्नो जीवनको स्वरूप परिवर्तन गरेको बताउँदै उहाँले यस्तो सहयोगले कर्णालीका छोरी बुहारीहरूको अध्ययनलाई अगाडि बढाउन मद्दत गर्ने जनाउनुभयो । जन नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले सरकारले दिने हरेक छात्रवृत्ति तथा सहुलियतहरू सामुदायिक विद्यालयका लागि मात्रै केन्द्रित गरेर दिन आवश्यक भएको बताउनुभयो । 

उहाँले धनी र गरिब बिचको दुरी कम गर्न यस्ता छात्रवृत्तिले सहयोग गर्ने बताउँदै सूचकको स्तर वृद्धि गर्न आवश्यक भएको सुझाव दिनुभयो । कार्यक्रममा छात्रवृत्तिबारे दुर्गम र पिछडिएका क्षेत्रको सहभागिता बढाउनका लागि छात्रवृत्तिमा आदिवासी, दलित र जनजातिहरूको समानुपातिक प्रतिनिधित्व गर्न कुल छात्रवृत्ति सङ्ख्याको ४० प्रतिशत आरक्षण र ६० प्रतिशत मेरिटका आधारमा छात्रवृत्ति वितरण गर्नुपर्ने नीतिगत सुझावहरू पनि दिइएको छ । 

प्रदेश सभाको सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले अध्ययनले देखाएको निष्कर्ष र सुझावका आधारमा सरकारलाई निर्देशन दिइने बताउनुभयो । उहाँले कार्यक्रम बढी प्रभावकारी बनाउनका लागि कार्यविधिमा लक्षित वर्गलाई समेट्न सुझाव दिनुभयो ।