• १५ असार २०८१, शनिबार

निःशुल्क एम्बुलेन्स सेवा

blog

घोराही समाचारदाता 

घोराही, भदौ १७ गते । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । निःशुल्क एम्बुलेन्स सेवाले राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्ष नाघेका ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ । 

निःशुल्क एम्बुलेन्स सेवाले गाउँपालिकाभित्र मात्र सेवा दिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभएको छ । शाखा प्रमुख राउतले भन्नुभयो, “राप्ती गाउँपालिकाभित्रका बिरामीलाई पालिकाभित्र रहेका अस्पतालसम्म ल्याउन र लैजान एम्बुलेन्समा पैसा लाग्ने छैन तर बिरामी अन्यत्र लगेर जानु परे अर्को एम्बुलेन्स प्रयोग गर्नु पर्छ ।” 

राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राउतका अनुसार सिसहनिया स्वास्थ्य चौकीमा रहेको पुरानो एम्बुलेन्सलाई मर्मत गरेर गाउँपालिकामा निःशुल्क सेवा दिन थालेको हो । उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीले केही महिनापछि नयाँ एम्बुलेन्सको व्यवस्था गर्दै छ, त्यो भएपछि बिरामीलाई थप सहज हुने छ ।” 

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिकसँगै पालिकाभित्रका ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क रूपमा पु¥याउने छ ।

प्रदेश राजधानीसमेत रहेको राप्ती गाउँपालिकाले सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवाले जनतालाई अस्पताल पुग्न र घर फर्किन सहज हुने अपेक्षा गरिएको छ । राप्ती गाउँपालिकामा नौ वडा छन् । राप्ती गाउँपालिका अध्यक्ष विष्ट सबै वडामा निःशुल्क सेवा दिने बताउनुहुन्छ । राप्ती गाउँपालिकाले यसअघि किसानका समस्यालाई ध्यानमा राखी कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको थियो । 

सात वटा पालिकाले चलाए एम्बुलेन्स सेवा

यसैबिच प्युठान समाचारदाताका अनुसार जिल्लाका सात वटा स्थानीय तहले एम्बुलेन्स सञ्चालन गरेका छन् । पालिकाभित्रका सेवाग्राहीलाई प्राथमिकता दिने गरी अहिलेसम्म सात वटा स्थानीय तहले एम्बुलेन्स खरिद गरी सञ्चालन गरेका हुन् ।

दुर्गम पालिकाका रूपमा रहेको नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेपछि पालिकामा एम्बुलेन्सको सहज पहुँच पुगेको छ । अध्यक्ष दिलबहादुर थापाले गाउँपालिकामा एम्बुलेन्स अतिआवश्यक रहेकाले खरिद गरिएको बताउनुभयो । 

अध्यक्ष थापाले भन्नभयो, “गाउँपालिकामा बिरामी हुँदा जिल्लाबाट एम्बुलेन्स मगाउनुपर्ने अवस्था थियो, जसले गर्दा बिरामीलाई अस्पताल पु-याउन ढिला हुन्थ्यो ।” एम्बुलेन्सले पालिकाभित्रका बिरामीको उपचारमा सहज हुने उहाँको भनाइ छ ।

दुर्गम पालिकाका रूपमा रहेको गौमुखी गाउँपालिकाले समेत एम्बुलेन्स खरिद गरी सञ्चालन गरेको छ । दुर्गम र भौगोलिक रूपमा अप्ठ्यारो पालिका भएकाले पालिकाभित्रै रहने गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो । अध्यक्ष गिरीले भन्नुभयो, “पालिकामै एम्बुलेन्स भएपछि बिरामीले छिटो उपचार पाउने छन् । त्यसैले पालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालन गरेको हो ।” 

सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सोमै मगरले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन पालिकाले एम्बुलेन्स खरिद गरेको बताउनुहुन्छ । उक्त एम्बुलेन्स ढुङ्गेगढी स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेसमेत सोमै मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकामा एम्बुलेन्सको आवश्यकता थियो । अब पालिकाका जनतालाई यसले उपचारमा जान सजिलो हुने छ ।” 

स्वर्गद्वारी र प्युठान नगरपालिका, माण्डवी र मल्लरानी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेका छन् । स्थानीय तहले खरिद गरेका एम्बुलेन्स पालिकाभित्रको स्वास्थ्य संस्थामार्फत सञ्चालन गरिएको छ ।