• ४ पुस २०८१, बिहिबार

सशस्त्र प्रहरीद्वारा जल उद्धार नमुना अभ्यास

blog

कपिलबस्तुको जगदीशपुरमा गरिएको नमुना अभ्यास । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, भदौ १६ गते । कपिलवस्तुको जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास (सेमुलेशन) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वाटर कपिलवस्तुको अगुवाइमा विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सो अभ्यास गरिएको हो ।

विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सिसम १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरू युनिट अट्याच्मेन्टको क्रममा नम्बर २८ गणमा आउनेक्रममा प्रशिक्षार्थीसहितको टोलीलाई नमुना अभ्यास गराइएको थियो । 


राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थबाट आएका ६ जना सशस्त्र प्रहरी निरीक्षकका प्रशिक्षार्थीको साप्ताहिक बिपद व्यवस्थापन अनुशिक्षणको अवसर पारेर अभ्यास गराइएको हो । अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका ५०, नेपाली सेनाका १५ र नेपाल प्रहरीका १५ जना गरी ८० जनाको टोलीलाई गणका सशस्त्र प्रहरी नायब उपरीक्षक तुलाबहादुर चौधरीले उद्धार अभ्यास गराएका हुन् ।

नमुना अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई कसरी जीवितै उद्धार गर्ने, उद्धार पश्चताको प्राथमिक उपचार, आवश्यक तयारी र घटना व्यवस्थापनबारे जनचेतनामूलक क्रियाकलाप गरिएको थियो । 


प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सशस्त्र प्रहरीले बलले भूकम्प, बाढी पहिरोलगायतका विपदमा अग्रपङ्क्तिमा रहेर उद्धार तथा विपद्को पूर्व तयारीमा उदाहरणीय काम गर्दैआएको बताउनुभयो ।

प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले विपद्को पूर्वतयारीको कामले विपद् जोखिम न्यूनीकरणमा सहयोग मिल्ने बताउनुभयो । कार्यक्रममा नेपाली सेनाका राधेश्याम विष्ट, कपिलवस्तु अस्पतालका मेसु डाक्टर विपिन जैसवाल, रेडक्रस सोसाइटीका महामन्त्री सन्तोष श्रीवास्तवलगायतको सहभागिता थियो ।