• १० मंसिर २०८१, सोमबार

समृद्धि सपनाका सूत्र

blog

अदेशभित्र अब केही हुँदैन भन्ने निराशाको बादल अहिले आमयुवामा छाएको छ । अलिकति हुनेखाने परिवारका छोराछोरी विद्यालय शिक्षा पूरा गरेपछि अध्ययनका नाममा देश छोड्ने तारतम्यमा दिनरात लागिरहेका छन्, छोड्दै छन् । विदेश अध्ययनका लागि वर्षमै खर्ब रुपियाँ बाहिरिँदो छ । अध्ययनमा जान नसक्नेहरू श्रम गन्तव्य मुुलुकमा पुग्न आतुर छन् । देशभित्र रोजगारीको बजार असाध्य साँघुरिएको छ । अर्थतन्त्र शिथिल छ र आर्थिक वृद्धिलाई उच्च मुद्रास्फीतिको फैलिँदो वृक्षले सेपिलो बनाउँदै छ । देशभित्रै आर्थिक तथा सामाजिक विकास गरेर हाम्रो भविष्य हामी आफैँले खोज्नु पर्छ भन्ने वाणी मधुरो हुँदै छ । यस्तो बेला सिन्कोको पनि सहारा हुन्छ भने झैँ लेखक अश्विनकुमार पुडासैनीले देशभित्रै लगानी, आय, उत्पादन र रोजगारीका लागि समृद्धि सूत्रको नयाँ पुस्तक ल्याउनु भएको छ । यसले समग्र राज्य संयन्त्रलाई ब्युँझाउने यत्न गरेको मान्न सकिन्छ । पुडासैनीले टिपोट गरेका बुँदाले वर्षदिनमा ‘समृद्धिको हुटहुटी’ कृति जन्मिएको देखिन्छ । सुशासन र समृद्धिका १०१ पाइलाका रूपमा कृतिले देशका समग्र युवाको भाग्य र भविष्य यसै मुलुकमा खोज्न यत्नलाई सूत्रबद्ध गरेको छ ।

पुस्तकमा एक सय एक शीर्षकमा असाध्य संक्षिप्त र सूत्रबद्ध तबरले देशका आर्थिक, सामाजिक, भौतिक विकासका आयाम समेटिएका छन् । सूचना प्रविधिका माध्यमले पारदर्शिता र सूचनासँगै लगानीलाई उत्पादनमूलक रोजगारीमा लगाउन सकिने विश्वास दिइएको छ । सुरुवात प्रत्येक नेपालीको बैङ्क खाताबाट आरम्भ गरिएको छ । अझै ३२ प्रतिशत नेपाली बैङ्किङ पहुँच बाहिर रहेको भन्दै प्रत्येक नेपालीलाई जन्मेपछि राज्यले नै बैङ्क खाता खोलिदिएर सुशासन, न्याय र समृद्धिका निम्ति राज्यसँगको नाता जोड्नु पर्ने सुझाव गरिएको छ । त्यसै खातामार्फत जन्मदर्तासँगै स्वास्थ्य बिमाको अवधारणा अर्को शीर्षकमा अगाडि सारिएको छ । सबै किसिमको भुक्तानी अनलाइनबाट शीर्षकले भ्रष्टाचार निराकरण गर्दै पारदर्शी वित्तीय प्रणालीको अवधारणा दिएको छ । 

सर्वसुलभ इन्टरनेट, एउटै नेसनल पेमेन्ट गेटवे सिस्टम, नागरिक एपको स्तरोन्नति, सूचनाको सुरक्षा जस्ता अलग अलग शीर्षकले राज्यलाई आधुनिकीकरणको दिशामा अगाडि बढ्ने फराकिलो अवधारणा दिएको छ । कागजी नोट सयको मात्र शीर्षक डिजिटल अर्थतन्त्रलाई प्रभावी बनाउने मन्त्र हो । बैङ्क खाता सबै नेपालीको भएपछि सेयरको सुविधा सबै नागरिकलाई अर्को शीर्षकले लगानीको नागरिक अवधारणा बलियो बनाएको छ । मैले तिरेको कर मेरै लागि हो भनेर राज्यप्रति नागरिक दायित्व स्पष्ट पारेको छ भने राजकीय आन्तरिक स्रोतलाई दीर्घकालीन रूपमा बलियो बनाउने बाटो देखाइएको छ । हरेक कारोबारलाई कर प्रणालीमा आबद्ध गराउँदा राज्यको आय बढ्ने छ भने नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्न सकिने सुझाव छ । राजमार्गमा नयाँ सहरको अवधारणा आवासका निम्ति बहुतले भवन, सबै नेपालीलाई आवास जस्ता अनेक विषयले राज्यसित नागरिक जोडिएका छन् । देशभित्र पूर्वाधार क्षेत्रमै व्यापक रोजगारीको ढोका खोल्ने अनेक बुटी छन् ।

निःशुल्क पिउने पानी, हरेक घरमा बिजुली जस्ता शीर्षकले नेपालका निम्ति असम्भव होइन भन्ने अवधारणा पनि दिइएको छ । सबै नेपाली साक्षर बनाउने नेपाली मोडल दिइएको छ । विद्यालयल शिक्षालाई अनिवार्य, सिर्जनशील र रोजगारमूलक बनाउने तौरतरिका सुझाव गरिएको छ भने उच्च शिक्षालाई क्षमताका आधारमा विश्वस्तरीय बनाउने कल्पना छ । उच्च शिक्षाका क्रममा एक वर्ष देशभित्र अनिवार्य इन्टर्नसिपले युवालाई कर्मयोगी बनाउने उपाय दिइएको छ । विकासको सहर र गाउँका रहरले गाउँको विकासमा प्राथमिकता दिई उच्च पदस्थले अवकाश जीवन गाउँमा बिताउने वातावरण राम्रो अवधारणा दिएको छ । सबै पालिकालाई सडक सञ्जालम जोडेर कृषि, पर्यटन, लघु उद्यमका अनेक आयामबाट समृद्ध बनाउन सकिने काइदा पनि पुस्तकमा छन् ।

देशभरका गाउँका खेतबारी बाँझो बन्दै गएको अहिलेको जटिल चुनौतीलाई भूमि बैङ्कको अवधारणाले उत्पादन, रोजगारी र कृषि क्रान्ति गर्न सकिने सरल उपाय सुझाइएको छ । यसबाट देशभित्र खाद्यमा आत्मनिर्भर, अर्गानिक उत्पादनसित पर्यटन, हिल स्टेसनको अवधारणाले भारत, चीन र पश्चिममा पर्यटन तान्न सकिने खाका दिइएको छ । हिमाली राजमार्ग, कर्णाली जोड्ने सुरङ मार्ग, सडक सुरक्षाका निम्ति जिपिएस प्रणाली आदि अनेक पूर्वाधार अवधारणाले नेपालको समृद्धि असम्भव छैन भन्ने सूत्र दिएको छ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रतालाई सर्वोच्च महत्व दिई सङ्घ, प्रदेशदेखि हरेक पालिकामा अभिव्यक्ति स्वतन्त्रता पार्कको अवधारणा छ । सूचना र सञ्चारको महत्वलाई अग्रता दिई हरेक पालिकामा गोरखापत्रको अनलाइन संस्करणसमेतको व्यवस्थाको नवीन मोडल सिर्जनशील अवधारणा हो । देशका सबै पालिकाको सार्वजनिक सूचनालाई गोरखापत्रमार्फत नागरिकसम्म पुग्न सक्ने सरल अवधारणासमेत विशिष्ट छ । निजी क्षेत्रको सञ्चार विकाससँगै राज्यका प्रकाशन, प्रसारण र समाचार समितिलाई प्रभावकारी बनाउँदा समृद्धिको उडान भर्न सहज हुने फराकिलो दृष्टिकोण छ । यसबाट सञ्चार क्षेत्रमा व्यापक रोजगारीसमेत सिर्जना हुन सक्ने छ ।

कर्मचारी प्रशासनलाई सरल, प्रविधिमैत्री, प्रभावी बनाउँदै सुशासन प्रवर्धनको सपना अब्बल छ । योगदानमा आधारित पेन्सन, स्वास्थ्य सेवालाई राज्यका अनिवार्य दायित्वको सुझाव मात्र छैन, त्यसबाट व्यापक स्वास्थ्य पूर्वाधारले लगानी र रोजगारीको मार्ग प्रशस्त गर्ने विश्वाससमेत बढाएको छ । विप्रेषणलाई देशका पुँजी निर्माण र लगानी प्रवर्धन गर्न सक्ने अनेक सुझावसँगै सरल सेवा प्रवाहका निम्ति कम लागतमा उचित प्रणाली अवलम्बन गर्न सकिने उपाय दिइएको छ ।

नेपालको पानीबाटै केही वर्षभित्र ४० हजार मेगावाट विद्युत् निकाल्न सकिने सुझाव र उपाय मात्र छैन, विद्युत्बाट हरित अर्थतन्त्रको विकास गर्न सकिने छ । हरित अर्थतन्त्रमा सबै नागरिकलाई लगानी, आय, उत्पादन र आर्थिक वृद्धिका निम्ति सहभागी हुन सक्ने तरह तरहका उपाय छन् । सरकार, निजी क्षेत्र र वैदेशिक लगानीलाई तीन खम्बे अर्थनीति भनिएको छ र सहकारी निजी क्षेत्रमै पर्ने हुँदा संविधानको अवधारणामै सच्याउनु पर्ने सुझावले चिन्तनको नयाँ ढोका खोलेको छ । नेपालका प्राकृतिक स्रोत नेपालीकै निम्ति भन्दै ढुङ्गालाई औद्योगिकीकरण गरी वास्तुकलाले भरिपूर्ण बनाइ बाँकी संसारको बजारमा निर्यात सम्भावना असाध्य सिर्जनशील अवधारणा हो ।

देशलाई समृद्ध बनाउन सकिने सय अवधारणापछि अन्तिम एक सय एकमा नागरिकको निःशुल्क अन्तिम संस्कारले सबैको मन छुन्छ । संस्थागत संरचना बनाउँदा यो असम्भव पनि छैन । व्यवस्थित गर्दा अब यो काम स्थानीय तहले नै गर्न सक्छ । सक्नेले त्यस निम्ति सक्रिय आर्थिक जीवनमै पालिकामार्फत रकम योगदान दिन सक्ने छन् । कोष खडा गरेर काम गर्दा त्यसैभित्र सबैका निम्ति निःशुल्क अन्तिम संस्कारको व्यवस्था हुन सक्छ । हरेक परिवारमा कुनै न कुनै बेला आउने पीडामा मलम लगाउने राज्यको दायित्वसमेत हो । जन्मदेखि जीवनको अन्तिमसम्म राज्य जोडिनु साँच्चै जरुरी छ ।

लोकतान्त्रिक व्यवस्थामा राज्य सञ्चालन गर्ने जो कोही उत्तरदायी हुनै पर्छ । राजनीतिक दलबिनाको लोकतन्त्र कल्पना गर्न सकिन्न । राजनीतिक दलले निर्वाचनमा जाँदा घोषणपत्रमा समावेश गर्न सक्ने र सत्तामा पुगेपछि गर्नैपर्ने कामका निम्ति यो पुस्तकका सुझाव वेदीय मन्त्रसरह नै छन् भन्दा फरक नपर्ला । सबै नागरिक र विशेष गरी युवालाई आफ्नै भूमिप्रति भरोसा जगाउने अनेक मन्त्रले रोमाञ्चितसमेत बनाउँछ । सबै सिंहदरबारले कतिपय सुझाव तत्कालै अनि क्रमिक रूपमा अवलम्बन गर्न सक्दा सुशासनको प्रत्याभूति हुने छ । देउराली प्रकाशन प्रालिले प्रकाशन गरेको पुस्तकको सम्पूर्ण आय मुटु बचाउ अभियानलाई समर्पित गरिने प्रतिबद्धता छ । व्यक्तिगत ३७५ र संस्थागत पाँच सय रुपियाँ मोलको यो पुस्तकका केही कमजोरी नभएकै भने होइनन् । समृद्धिका उपाय, मार्ग र चिन्तनलाई थप विश्वासिलो र प्रभावी बनाउन सक्ने प्रशस्त ठाउँ बाँकी नै छन् । अलि गहिराइमा मेहनत गर्न सक्दा कृति बलियो हुन्थ्यो र कतिपयलाई सतही जस्तो लाग्न सक्ने जोखिम पनि हुँदैन थियो तर लेखकले समृद्धिसँग हुटहुटी शब्द जोडेर सान्दर्भिक बनाउने यत्न भने गर्नुभएको छ ।  

Author

जुनारबाबु बस्नेत