• १५ वैशाख २०८१, शनिबार

कर्णाली प्रतिष्ठानमा डायलासिस सेवा

blog

जुम्ला समाचारदाता

जुम्ला, भदौ १६ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डायलासिस सेवा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ वटा डायलासिस मेसिन उपलब्ध गराएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले डायलासिस सेवा शुभारम्भ गर्दै प्राथमिकताका आधारमा अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले ब्लड बैङ्कमा पनि आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै कर्णाली प्रतिष्ठानले १२ वर्षको समयमा स्वास्थ्य सेवा, दक्ष जनशक्ति उत्पादनमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो।

प्रतिनिधि सभाका सांसद कान्तिका सेजुवालले हिमाली क्षेत्रमा स्थापना भएको कर्णाली प्रतिष्ठानलाई सरकारले बजेटमा प्राथमिकतामा नदिएको गुनासो गर्नुभयो। स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले प्रतिष्ठानले प्राप्त गरेको सफलताका आधारमा मन्त्रालयको स्रोतसाधन वितरणमा कर्णाली प्रतिष्ठान पहिलो प्राथमिकतामा पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डा. मङ्गल रावलले हिमाली क्षेत्रमा स्थापना भएको प्रतिष्ठानमा माउन्टेन मेडिसिन र हर्बल मेडिसिनको सम्भावना भएको बताउनुभयो। उहाँले संसद्बाट ऐन पारित भएर पिछडिएको क्षेत्रको स्वास्थ्य स्थिति सुधार्ने लक्ष्य रहेको यस प्रतिष्ठानलाई नमुना बनाउन लागिपरेको बताउनुभयो।  उहाँले प्रतिष्ठानमा एक सय चिकित्सक कार्यरत रहेको जानकारी दिँदै एमबिबिएस तेस्रो ब्याच र एमडी पाचौँ ब्याच गइसक्दा पनि पढ्ने र पढाउने भवनका लागि सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो।

उपकुलपति रावलले तीन सय शय्याबाहेक अन्य भवन नहुँदा चिकित्सक भाडाको घरमा बस्न बाध्य भएकाले प्रतिष्ठानका जनशक्तिको स्थायित्वका लागि सुविधा थप गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभयो।

जुम्लाको चन्दननाथ नगरपालिका–३, चेरेचौरमा पाँच सय रोपनी जग्गामा एमबिबिएस पढाउने जग्गा नागरिकले प्रतिष्ठानलाई निःशुल्क उपलब्ध गराए पनि भवन निर्माणका लागि बनाइएको योजनामा सरकारले चासो नदिएको बताइन्छ।