• ४ जेठ २०८१, शुक्रबार

नेकपा (माओवादी केन्द्र) काे आजदेखि विशेष रूपान्तरण अभियान

blog

काठमाडौँ, भदौ १६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी सदस्यता आठ लाख पु-याउने उद्देश्यसहित ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को शनिबार उद्घाटन गर्ने भएको छ । २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका कामको जानकारी दिने उद्देश्यले तीनमहिने अभियान गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । 

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरबाट उद्घाटन गर्नुहुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पार्टी प्रवक्ता सापकोटाले उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो । 

उहाँले ‘घर घरमा माओवादी, जन जनमा माओवादी’ नारासहितको तीनमहिने अभियानमार्फत माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको बताउनुभयो । आत्मनिर्भरता बढाउन पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारले कम्तीमा एक/एक वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गरिने भएको छ । कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम सङ्घीय सरकारले सात वटै प्रदेशमा एक/एक वटा आयोजना सञ्चालनको सम्भाव्यताको अध्ययन गर्ने छ । 

उहाँले भन्नुभयो, “अभियानमा पार्टीको विचार, दृष्टिकोण, पार्टी र सरकारले गरेका कामबारे छलफल हुने छ । वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक पुनर्गठनको आवश्यकताले रूपान्तरणको तीनमहिने अभियान सुरु गरिएको हो ।” माओवादी केन्द्रको साउन १७ देखि २१ गतेसम्मको केन्द्रीय समितिको पूर्ण बैठकले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना, विभिन्न तहका पार्टी कार्यालय व्यवस्थापन, अन्तरविरोधको पहिचान, कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माणको काम गरिने भएको छ । 

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तर्क्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय तहका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तर्क्रिया हुने भएको छ । साथै तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम आयोजना गरिने भएको छ ।

पार्टीका प्रवक्ता सापकोटाले भन्नुभयो, “तीनमहिने अभियानले पार्टीको विधान सम्मेलनको राम्रो आधार तयार गर्ने छ । आगामी मङ्सिर १५ गतेपछि विधान सम्मेलनमा जाने निर्णय भइसकेको छ । विधान सम्मेलनपछि पार्टी विशेष महाधिवेशनमा जान्छ ।”