• ७ जेठ २०८१, सोमबार

करिब डेढ लाखलाई सहुलियतपूर्ण कर्जा प्रवाह

blog

काठमाडौँ, भदौ १५ गते । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । 

नेपाल राष्ट्र बैङ्कले नेपाल सरकारको ब्याज अनुदानमा बैङ्क तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तमा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको हो । समीक्षा अवधिमा एक खर्ब ९७ अर्ब छ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३५० ऋणीलाई प्रवाह भएको एक खर्ब ३५ अर्ब ७६ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई प्रवाह भएको ५८ अर्ब ३८ करोड कर्जा रहेको छ ।

राष्ट्र बैङ्कका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ७१० ऋणीको दुई अर्ब ९१ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ । यस्तै “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०८० असार मसान्तमा ७० करोड ९४ लाख रुपियाँ बक्यौता भएको छ । 

आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैङ्कहरूबिच ३९ खर्ब ४२ अर्ब १५ करोड रुपियाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैङ्कहरूबिच बाहेक) बिच तीन खर्ब ५२ अर्ब सात करोड गरी कुल ४२ खर्ब ९४ अर्ब २२ करोडको अन्तरबैङ्क कारोबार भएको छ ।