सिराज खान
नेपालगञ्ज, भदौ १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कुनै पनि गरिब र विपन्न नेपालीलाई पैसा नभएकै कारण उपचार नपाएर मर्न नदिने बताउनुभएको छ ।
उहाँले बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा देशका हरेक गरिब र विपन्नलाई पनि स्तरीय उपचार निःशुल्क रूपमा उपलब्ध गराउनु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘‘नेपालको संविधानले गरेको व्यवस्था अनुसार विपन्न र दुर्गमका जनतालाई जसरी पनि जहाँबाट पनि बजेट र जनशक्तिको व्यवस्था गरेर सरकारले निःशुल्क तथा राम्रो उपचारको व्यवस्था गर्नेछ ।’’
उहाँले सबै जनतालाई सरल र सहज रूपमा स्तरीय उपचार सेवा प्रदान गर्नकै लागि सरकारले देशभरिका सरकारी अस्पतालहरूको सेवा स्तरीकरण गर्ने अभियान सुरु गरिसकेको जानकारी दिनुहुँदै बिसौँ वर्षसम्म सुविधासम्पन्न सहरमा मात्र बस्ने चिकित्सकलाई दुर्गम र ग्रामीण क्षेत्रमा पठाउन थालिएको जानकारी गराउनुभयो ।
मन्त्री बस्नेतले थप्नुभयो, ‘‘अब पहिलेजस्तो चल्ने छैन, सरकारी जागिरमा रहेका सबै चिकित्सकसँग समान व्यवहार गरिनेछ र सबैले सरकारले खटाएको ठाउँमा जानै पर्नेछ ।’’
स्वास्थ्य सेवामा जनशक्तिको अभाव एउटा ठुलो चुनौती बनेको जनाउँदै मन्त्री बस्नेतले २२ वर्ष अघि आफू स्वास्थ्य राज्यमन्त्री हुँदा ३२ हजार कर्मचारी रहेकोमा अहिले आएर बढ्नुको साटो जनशक्ति झन् घटेर ३१ झरेको बताउनुभयो ।
उहाँले सरकारी अस्पतालमा सरसफाइको कमी र स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवहार नराम्रो भएको गुनासो चारैतिरबाट सुनिन थालिएको जानकारी दिनुहुँदै यी कुरामा सुधार गर्न सम्बन्धितलाई निर्देशन पनि सोही अवसरमा दिनुभयो ।
सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.पवनजंग रायमाझीले अस्पतालको हालको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो ।
डा.रायमाझीले जनशक्ति अभाव र पूर्वाधार अभावका कारण बिरामीलाई प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको भन्दै जनशक्ति र पूर्वाधारका निमित्त मन्त्रालयसँग सहयोग माग्नुभयो ।
निरीक्षण कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्यहरू बादशाह कुर्मी, सञ्जु कुमारी थारु, मीना सिक्देल, माया पुन, सुशिला नेपाली, नेपालगञ्जका प्रमुख प्रशान्त विष्ट, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल लगायतको सहभागिता रहेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिनुभयो ।