बाबुराम कार्की
वराहक्षेत्र, भदौ १४ गते । वराहक्षेत्रको चुरे क्षेत्रका स्थानीय वर्षौंदेखि बेसार खेती गरेरै जीविका चलाउँदै आएका छन् । चुरे क्षेत्रका अर्चले, सूर्यकुण्ड, धापा गाउँ, चियाबारीलगायत गाउँका स्थानीय चार दशकदेखि बेसार खेती गर्दै आएका छन् ।
भौगोलिक विकटताले गर्दा पछि परेको वराहक्षेत्र नगरपालिका–१ को चुरे क्षेत्रका स्थानीयले प्रमुख बालीका रूपमा बेसार खेती गर्दै आएका छन् । धरानबाट दुई घण्टाको यात्रा र चतराबाट डेढ घण्टाको पैदल यात्रापछि पुगिन्छ चुरेका गाउँ । सूर्यकुण्ड र चियाबारी क्षेत्र पुग्ने कच्ची सडक भए पनि वर्षायाममा गाडी चल्दैनन् । हिउँदमा भने अटो, टेम्पो र साना गाडी चल्ने गर्छन् ।
बेसारसँग चामल साटेर जीविका चलाउँदै
वराहक्षेत्र–१ को अधिकांश क्षेत्र चुरेमा पर्छ । सानाठुला डाँडाकाँडा भएकाले अन्य बालीभन्दा बेसार खेती हुने गरेको छ । यस क्षेत्रको प्रमुख बाली भनेकै बेसार खेती हो । चतराबाट सिधा उकालो लागेपछि कान्ला, समथर सबैतिर बेसारैबेसार देखिन्छ । वर्षांैदेखि स्थानीयले घर, बारी, पाखो सबैतिर बेसार खेती लगाएर जीविका चलाउँदै आएका छन् ।
चार दशकदेखि अर्चले, सूर्यकुण्ड, धापा गाउँ, चावाचा, चियाबारी, कटारे क्षेत्रका बासिन्दा बेसार खेती गर्दै आएका हुन् । “तपाईंहरूको तिर त धान खेती हुन्छ, होइन ? हाम्रो त धान खेती भनेको नै यही बेसार हो,” स्थानीय रामबहादुर राईले भन्नुभयो ।
५३ वर्षीय राईले भन्नुभयो, “म यहीँ जन्मेको हो । मैले थाहा पाउँदादेखि बेसार खेती हुँदै आएको सम्झना छ । यहाँका स्थानीयले प्रमुख खेतीका रूपमा बेसार र सहायक खेतीका रूपमा केरा, अम्लिसो, अदुवा खेती गरेर जीविका चलाउँदै आएका छन् ।” सिँचाइको व्यवस्था नहुँदा अन्न र तरकारी उत्पादन अत्यन्तै कम हुने हुँदा सबै गाउँले बेसार खेती नै गर्दै आएको रामबहादुर राईले बताउनुभयो । सूर्यकुण्ड धितलबारीका स्थानीयवासी भन्छन्, “सुनसरीलाई सबैले सुगम जिल्ला भन्छन् तर हाम्रो पीडा हामीलाई मात्र थाहा छ । कसलाई सुनाउँदै हिँड्नु ?”
४८ वर्षीय जयमती राईले भन्नुभयो, “रोपेको आठ महिनामा उत्पादन दिने बेसार खेतीबाट जीविका चलाउँदै आएका छौँ ।” चैत, वैशाखमा रोपेको बेसार पुस, माघमा खन्न तयार हुने र त्यही बेसार बेचेर चामल किन्ने गरेको जयमतीले सुनाउनुभयो ।
अर्चले गाउँका वासुदेव सार्कीले डेढ बिघा जग्गा अधियाँमा कमाउनुभएको छ । उहाँले अधिकांश जग्गामा बेसार खेती, केहीमा बर्खे साग, केरा र कोदो लगाएको सुनाउनुभयो । “दुई क्विन्टल सुकेको बेसार बेचेर आएको पैसाले चामल किनेर खाइयो । बेसारसँग चामल साटेर जीविका चलाउँछौँ,”
उहाँले भन्नुभयो । सुकेको बेसार प्रतिकेजी १३० देखि १५० रुपियाँसम्ममा बिक्री हुने गरेको चतरा र धरानको बजारमा बेसार बेच्दै आएकी सुजता राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “तीन/चार कान्ला बेसार लगाउँदै आएकी छु । यसपालि राम्रै भाउ पाइयो ।”
जग्गाजमिन हुँदाहुँदै पनि आफूले चाहे अनुसार बाली लगाउन नपाएको धापा गाउँका ६३ वर्षीय भीमबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गाजमिन त छ नि ! सिँचाइको व्यवस्था भयो भने उत्पादन राम्रो दिने । त्यही नभएर बेसारबाहेक अरू बाली लगाउन मिल्दैन । यहाँ त जसको धेरै बेसार फल्यो त्यही धनी ।”
छैन चुरे क्षेत्रमा सिँचाइ
पानीको राम्रो व्यवस्था नहुँदा स्थानीयले अन्य बाली लगाउन सकेका छैनन् । तरकारी खेतीका लागि उपयुक्त स्थान भए पनि सिँचाइको व्यवस्था नहुँदा बाध्यताले पनि बेसार खेती लगाउनु परेको छ । बेसार खेतीलाई सिँचाइको आवश्यकता खासै नपर्ने हुँदा किसानले बेसार खेती गर्दै आएका छन् । “पल्लोपट्टिबाट कोशी कुदेको छ, यता हाम्रा खेत सुक्खै रहन्छन्,” ५३ वर्षीय रामबहादुरले भन्नुभयो ।
अर्चलेका वासुदेव सार्कीले भन्नुभयो, “सिँचाइको व्यवस्था नहुँदा तरकारी खेती हुँदैन । यहाँको प्रमुख बाली भनेकै बेसार खेती हो । बेसार फले घर चलाउन सजिलो हुने, बेसार कम फले घर चलाउनै समस्या पर्ने ।”
सिँचाइको व्यवस्था भए तरकारी उत्पादनका लागि उपयुक्त जमिन छ । यहाँ मौसमी तथा बेमौसमी तरकारी खेती लाउन सके राम्रो आम्दानी लिन सकिन्छ । “वर्षायाममा टमाटर फलाउन सकेको भए कति आम्दानी हुन्थ्यो । हाम्रो आम्दानीको स्रोत मौसमी र बेसौसमी तरकारी पनि हुन्थ्यो । हाम्रो पालामा नदीबाट पानी तान्ने प्रविधिको प्रयोग गरेर खेती गर्ने त सपनामै होला,” वासुदेव सार्कीले भन्नुभयो ।
चियाबारीका स्थानीय पहिला मकै, कोदो रोपेर जीविका चलाउँदै आएका थिए । चार दशकदेखि बेसार प्रमुख बालीका रूपमा र सहायकमा बालीमा अदुवा, अम्लिसो, केरा लगाउन थालेका हुन् । एउटै बारीमा एउटै खेती गरिरहँदा कम फल्ने पार्वती राईले बताउनुभयो । बेसारसँगै मकै लगाएर घुसुवा बाली लगाउँदै आएका छौँ ।”
वराहक्षेत्र नगरपालिका–१, चुरे क्षेत्रमा एक हजार घरपरिवारको बसोबास रहेको छ । सूर्यकुण्ड, चियाबारी, कटारे, चावचा र वराहक्षेत्र मन्दिर पनि यसै क्षेत्रमा पर्छ ।